अछाममा चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन् 

अस्पतालका अन्य सेवा पनि फितलो रहेको जनगुनासो

अछाममा चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन् 

राजन जैगडी । अछाम । चालक नहुँदा जिल्ला अस्पताल अछामको एम्बुलेन्स थन्किएको छ । सामाजिक विकास मन्त्रालयले वितरण गरेको एम्बुलेन्स विगत ३ महिना देखि चालक नहुँदा थन्किएको हो । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गम्भीर प्रकृतिका बिरामीलाई सुविधा सम्पन्न अस्पताल सम्म लैजान सजिलो होस भनेर वितरण गरेको एम्बुलेन्स चालक नभएर थन्किएपछि सेवाग्राहीले सेवा पाउन सकेका छैनन् । 

एम्बुलेन्स चलाइरहेका चालकलाई अस्पताल प्रशासनको गाडी चलाउन लगाईएपछि एम्बुलेन्स चालक विहिन भएको बताइएको छ । लामो समय देखि चालक विहिन एम्बुलेन्सको चालक भर्ना गर्ने कुनै पनि प्रक्रिया आगाडी नबढेको समेत खुल्नमा आएको छ । अस्पतालका अन्य सेवा पनि फितलो रहेको जनगुनासो रहेको छ । अस्पतालमा दरबन्दी र आवश्यकता अनुसारको जनशक्ति पूर्ति हुन नसकेको र करारका कर्मचारीले अस्पतालको सेवा संचालन गरिरहेको अस्पताल कि सूचना अधिकारि गङ्गा बुढा मगरले बताएकि छिन् ।