बुटवल । कवि भूपाल राईले साहित्यमा पनि राजनीति हुने धारणा व्यक्त गरेका छन् । उन्मुक्त पुस्ताको कवितासङ्ग्रह 'रोअरिङ फ्लेम्स' विमोचन समारोहमा बोल्दै उनले भने, 'साहित्यकारले आफ्नो साहित्यमार्फत राजनीति गरिरहेको हुन्छ ।' साहित्य र राजनीतिको अन्तर्सम्बन्धमाथि विद्वतप्रवचन दिने क्रममा साहित्यकारको समाजप्रतिको बुझाईले उसको साहित्य जन्मने र त्यो साहित्यमा अनिवार्य रुपमा कुनै न कुनै धारको राजनीतिक प्रतिनिधित्व भएको हुने उनले बताए । उनले भने, 'साहित्यमा राजनीति लेख्नु हुन्न भन्नेले पनि वास्तवमा राजनीति नै गरिरहेको हुन्छ । उसको राजनीति भनेको, जसले साहित्यमा राजनीति लेखिरहेको हुन्छ, उसलाई हतोत्साहित गर्नु हो ।' साहित्यमा राजनीतिका कुरा आउनु स्वभाविक भएको उनको धारणा थियो । समाज जेजस्तो व्यवस्था र जुन कालखण्डमा गुज्रिरहेको हुन्छ, त्यहीअनुसार साहित्यमा समाजको चित्रण हुने र त्यो चित्रण नै राजनीतिक चित्रण भएको उनको भनाई थियो । ४० को दशकदेखि आफूले घोषित रुपमै साहित्यमा राजनीति लेखिरहेको र साहित्यमा राजनीति नै लेख्न भनेर घोषित रुपमै उन्मुक्त पुस्ता पनि अगाडी आएकोमा उनले खुशी व्यक्त गरे । उन्मुक्त पुस्ताले जस्तै साहित्यमा राजनीतिक विषय लेख्नका लागि सबै युवा कविहरु लामबद्ध हुनुपर्ने उनको भनाई थियो । साहित्यकारले उठान गर्ने हरेक मुद्दाको समाधान राजनीतिमा हुने भएकोले समाजमा उठान गर्न आवश्यक राजनीतिक मुद्दा आफ्नो सृजनामार्फत उठाउन कविहरुले जोखिम मोल्न तयार हुनुपर्ने धारणा कवि भूपाल राईले व्यक्त गरेका छन् ।
कालिकास्थानस्थित सर्वनाम थियटरमा शनिबार आयोजित कवितासङ्ग्रह सार्वजनिकीकरण कार्यक्रमको पहिलो सत्रमा वक्ताहरु कैलाश राई र डा. तारालाल श्रेष्ठले किताबमाथि आआफ्ना धारणा प्रस्तुत गरेका थिए । दोश्रो सत्रमा कवि भूपाल राईको विद्वतप्रवचन थियो । तेश्रो सत्रमा कविहरु प्रेमीला राई, पुरुषोत्तम आचार्य, सुमनराज श्रेष्ठ, सुशिला निनाम र यश लामाले कवितावाचन गरेका थिए ।
कवितासङ्ग्रह 'रोअरिङ फ्लेम्स'माथि आफ्नो धारणा प्रस्तुत गर्दै कैलाश राईले सङ्ग्रहभित्र वैचारिक रुपमा स्पष्टता भएका कविताहरु रहेको बताइन् । विषयवस्तुको दमदार उठानसँगै राजनीतिक र सांस्कृतिक चेतसहितका कविताहरु यसमा सङ्ग्रहित भएको उनले बताइन् । राईले भनिन्, 'किन र कसका लागि कविता लेखिएको हो भन्ने सवालमा कविहरु एकदमै स्पष्ट छन् । निशाना जहाँ लाउनुपर्ने हो, ठ्याक्कै त्यहाँ लागेको छ । कवितामा सिमान्तकृत समुदाय र व्यक्तिहरुले आफूलाई पाउँछन् ।' पुराना मानकहरुलाई बहिष्कार गर्दै सिमान्त पारिएका समुदाय र पात्रहरुलाई उन्मुक्त पुस्ताले आफ्नो सृजनाको केन्द्रमा राख्नु किताबको सबैभन्दा आकर्षक पक्ष रहेको उनको धारणा थियो ।
कवितासङ्ग्रहमाथि बोल्दै डा. तारालाल श्रेष्ठले हजारौँ वर्षदेखि अभ्यासरत राज्यसत्तासँग एक्लै वैचारिक लडाईं लड्नु असम्भव रहेको र यसका लागि उन्मुक्त पुस्ताका कविहरुको संयुक्त प्रयास सकारात्मक कदम भएको बताए । सङ्ग्रहको हरेक कवितामा वर्गीय मुद्दाको उठान भएको उनले बताए । राज्यसत्ताको भोग गरिरहेकाहरु अनेक रुपमा र एकीकृत ढंगले सिमान्तकृतहरुमाथि जाइलाग्ने र तिनले आफ्नो स्वरुप पनि समयक्रममा परिवर्तन गरिरहने उनको धारणा थियो । पछिल्लो समय त्यो उत्पीडक समूहले वैचारिक स्वरुप धारण गरेको उनको ठम्याई थियो । यसका लागि उन्मुक्त पुस्ताले जस्तो खुलेर र संगठित रुपमा वैचारिक प्रतिरोध गरेमा मात्रै त्यो पुरातन शक्तिसंरचनालाई परास्त गर्न सकिने श्रेष्ठको भनाई थियो ।
कवितासङ्ग्रह 'रोअरिङ फ्लेम्स'भित्र सत्रजना कविहरुका तीन तीन वटा गरेर जम्मा एकाउन्न वटा कविता समावेश छन् । माधव घिमिरे 'अटल' र मुक्तान थेबाको अङ्ग्रेजी अनुवादमा प्रकाशित यस सङ्ग्रहभित्र कविहरु छम गुरुङ, हरिशरण परियार, केशरी अमगाईं, केशव सिलवाल, केवल बिनाबी, खोमा तरामु मगर, किरात नकरा, कृष्ण विश्वकर्मा, माधव घिमिरे 'अटल,' एमसी सुमित, मुक्तान थेबा, प्रकाश गुरागाईं, प्रेमीला राई, पुरुषोत्तम आचार्य, सुमनराज श्रेष्ठ, सुशिला निनाम र यश लामाका कविताहरु छन् ।
उन्मुक्त पुस्ताले कवितासङ्ग्रह 'आफर'मार्फत २०७५ सालको पहिचान पुरस्कार प्राप्त गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्