हेमन्त वलि । दाङ । दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिती दाङको ८ औं जिल्ला भेला दाङको लमहिमा सम्पन्न भएको छ । भेलाले सुरज परियारको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा रेशम सुनार, सचिव केशर विक, सहसचिव लोक बहादुर सुनार र कोषाध्यक्षमा केशर परियार रहेका छन् ।
'सामाजिक दलाल पुंजीवादको आधुनिक विभेदका विरुद्ध शसक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्ति मोर्चाको ८ औं जिल्ला भेला !!' भन्ने मुल नारासहित उक्त भेला सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरीले पुंजीवादी संसदीय व्यवस्थाबाट जातिय मुक्ति सम्भव नभएको जिकिर गरे । उनले संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज टीकाराम नेपालीले समाजमा दुई जात पुरूष र महिला मात्र हुने कुरा उल्लेख गरे । उनले जात व्यवस्थाका विरुद्ध संघर्ष गर्न सम्पुर्ण दलितहरु एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन आह्वान गरे ।
शुभकामना मन्तव्य राख्दै नेकपा पूर्वी घोराही इन्चार्ज जनकले उत्पीडित दलितहरु आफ्ना हक अधिकार प्राप्तिका लागि निर्मम संघर्ष गर्नुपर्ने बताए ।
कार्यक्रममा मगर मुक्ति मोर्चा राप्ती ब्युरो इन्चार्ज भिम प्रकाश पुन, मगर मुक्ति मोर्चा दाङका संयोजक सेबेन्द्र मगर, नेकपा दाङ जिल्ला सल्लाहकार सदस्य मधुसुदनको आतिथ्य रहेको थियो ।
दलित मुक्ति मोर्चा नेपाल दाङका संयोजक सुरज परियारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेशम विकले गरेका थिए । नवनिर्वाचित जिल्ला कमिटीलाई बधाई मन्तव्य नेकपा लमही नगर सेक्रेटरी उज्ज्वलले राखेका थिए ।
प्रतिक्रिया राख्नुहोस्