रूपन्देहीको भलवारीमा ‘पाँचतारे’ होटल शिलान्यास

पूर्वाधार निर्माणमा २ अर्ब भन्दा बढी लगानी हुने अनुमान

रूपन्देहीको भलवारीमा ‘पाँचतारे’ होटल शिलान्यास

बुटवल । भारतीय पर्यटकलाई लक्षित गरेर रुपन्देहीको भलवारीमा ‘फाईभ स्टार’ लेवल मापदण्डको होटल सिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारी जहदामा होटल ‘फाउन्टेन फन’को पूर्वमन्त्री तथा प्रतिनीधि सभा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले शनिबार शिलान्यास गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै उहाँले लगानीका प्रयाप्त सम्भावना र अवसर भएपनि सरकारले लगानीमैत्री वातावरण नबनाएका कारण लगानीकर्ता खुम्चिएको बताउनुभयो । उहाँले रुपन्देहीको तिलोत्तमा नगरपालिमामा जमिनका कारणले पनि लगानीको अझैबढी सम्भावना भएको हुँदा उद्योग तथा व्यापार व्यवसायलाई सहज वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

शिलान्यास गरेको उक्त होटलको समयमै पूर्वाधार निर्माण गरि समयमै सञ्चालनको व्यबस्था मिलाउन समेत आग्रह गर्नुभयो । यस क्षेत्रका युवा व्यबसायी नारायण वञ्जाडेको एकल लगानीमा निर्माण गर्न लागिएको पाँच तारे लेवलको होटल ‘फाउन्टेन फन’ अबको २ वर्षमा निर्माण पुरा गर्ने लक्ष्य लिइएको छ । आफ्नै स्वामित्वमा रहेको ५ विगाहा जग्गामा निर्माण गर्न लागिएको उक्त होटलको पूर्वाधार निर्माणमा २ अर्ब भन्दा बढी लगानी हुने अनुमान गरिएको सञ्चालक बञ्जाडेले बताउनुभयो ।

फूल क्यासिनो सहित निर्माण गर्न लागिएको उक्त होटलमा स्तरीय १०१ वटा कोठा हुनेछन् भने स्तरीय व्याङ्क्वीट हल, स्वीमिङ् पुल, हेली प्याड लगायत फाईभ स्टार लेवलको नम्स अनुसारका पूर्वाधार निर्माण गरिने उहाँले जानकारी गराउनुभयो ।

‘नेपालमा पर्यटकीय क्षेत्रको विकास र त्यसको प्रवद्र्धन गर्न सक्ने हो भने बहुसंख्यक भारतीय नागरिकलाई नेपालमा ल्याउन सकिन्छ ।’ उहाँले भन्नुभयो–‘नेपालका अर्थतन्त्र सुधारको लागि पनि पर्यटन उद्योग बलियो आधार बन्न सक्छ ।’ भैरहवामा निर्माण पुरा हुन लागेको अन्तर्राष्ट्रिय बिमानस्थल, नेपालकै अग्रस्थामा रहेको सुनौली नाका, बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल तथा पूर्वपश्चिम र उत्तर दक्षिणको संगम लगायतका हरेक दृष्टिले लगानीको सम्भावना देखेर लगानी गर्न लागेको उहाँको भनाई छ ।