‘पार्टी फुटको प्रचार दलाल पुँजीवादी र संसद्‌वादीहरूलाई फाइदा पुर्याउने भ्रम मात्र’ : नेकपा 

'कृष्ण धमलाद्धारा निर्माण गरिएको मञ्चलाई पार्टी फुट भन्न र मान्न सकिँदैन'

‘पार्टी फुटको प्रचार दलाल पुँजीवादी र संसद्‌वादीहरूलाई फाइदा पुर्याउने भ्रम मात्र’ : नेकपा 

बुटवल । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको समयमा नै पार्टीबाट स्वतन्त्र भएको वक्तव्य दिएका कृष्ण धमलाद्धारा निर्माण गरिएको मञ्चलाई पार्टी–फुट भन्न र मान्न नसकिने जनाएको छ ।

केन्द्रीय कार्यालयको तर्फबाट शनिबार असलले जारी गरेको प्रेस नोटमा  उक्त प्रचार दलाल पुँजीवादी र संसद्‌वादीहरूलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार मात्र रहेको प्रस्ट पारिएको छ ।

असलको प्रेस नोटमा भनिएको छ, ‘प्रतिबन्धको समयमा नै पार्टीबाट स्वतन्त्र भएको वक्तव्य दिएका श्री कृष्ण धमलाद्धारा निर्माण गरिएको मञ्चलाई  पार्टी फुटको संज्ञा दिइएको छ । उक्त कुरालाई पार्टी फुट भन्न र मान्न सकिँदैन । यो दलाल पुँजीवादी र संसद्‌वादीहरूलाई फाइदा पुग्ने गरी गरिएका भ्रामक प्रचार मात्र हो ।

समाजवाद र क्रान्तिको पक्षमा मञ्चबाट योगदान गर्ने  जुन सोचाइ अगाडी सारिएको छ, त्यो कुरा आन्दोलनका लागि सकारात्मक नै हुनेछ । सानातिना मनमुटाव छोडेर महान् एकिकृत जनक्रान्तिको अभियानमा ध्रुवीकृत हुन हाम्रो पार्टी सबैमा अपिल गर्दछ ।’