मुख्यमन्त्री शंकर पोखरेलद्धारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका  मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा लगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको बताइएको छ ।

दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए । २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। पोखरेल एमाले अध्यक्ष एंव प्रधानमन्त्री  केपी शर्मा ओलीका विश्वासपात्र समेत हुन् ।  प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ।

यसअघि अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका ४ जना सांसदलाई मन्त्री बनाएका थिए ।