प्रवक्ता प्रकाण्डद्धारा कोरोना भाइरसविरुद्ध जनसेवामा जुट्न पार्टी नेता–कार्यकर्तालाई निर्देशन

जनता विपत्तिमा परेको बेला भ्रष्टाचार, कमिसनखोरी र कालोबजारी गर्नेलाई कारबाहीको माग

प्रवक्ता प्रकाण्डद्धारा कोरोना भाइरसविरुद्ध जनसेवामा जुट्न पार्टी नेता–कार्यकर्तालाई निर्देशन

बुटवल । नेपाल कम्युनिस्ट पार्टीले जनताको जीवनमा महाविपत्ति परेको बेला भ्रष्टाचार, कमिसन, कालोबजारी र अनियमितता गर्ने तत्वहरू जनताका निम्ति अपराधी भएकाले यिनीहरूलाई कारबाही गरी सङ्क्रमित जनताको उपचारलाई प्रभावकारी र पर्याप्त बनाउन सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गरेको  छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार प्रेस विज्ञप्ति मार्फत् जनताको उपचारमा कुनै कसुर बाँकी नराख्न र सबै जनताको उपचार गराउन सरकारलाई आग्रह गरेका छन् ।

प्रवक्ता प्रकाण्डले जनताको आधारभूत आवश्यकता र मौलिक हकको प्रतिनिधित्व गर्ने देशको स्वास्थ्य क्षेत्र दलाल पुँजीवादी राज्यव्यवस्थाको चरित्रका कारण जनविरोधी, अक्षम, भ्रष्टचारी, कमिसनखोरी, कालोबजारी, व्यापारीकरण र कृत्रिम अभाव सृष्टि गर्ने अखडा बनेको समेत बताएका छन् ।

प्रकाण्डले विज्ञप्तिमा जनताको जीवनमा संकट र आपत आइलागेको यो घडीमा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई जनताको सेवामा समर्पित हुन आह्वान गर्दै साहस, सतर्कता र पारस्परिक सहयोगका माध्यमबाट कोरोना भाइरस विरुद्ध सङ्घर्ष गर्न आमनेपाली जनतामा हार्दिक अपिल समेत गरेका छन् ।