- मुकुन्दकृष्ण थापा
रगत पसिनाले सिञ्चित माटोमा
अङ्कुरित बीज हुर्काउँदै,
पल्लवित लोकतन्त्रको वृक्षमा
गणतन्त्रको रङ्गीचङ्गी फूल फूलाएर
वीरताको अमर गाथा कोरेकाहरू,
परिबर्तनको प्रतिफलबाट बचित भएर बाँचिरहेछन्
गुमनाम जिन्दगी !
जीवनोपयोगी शिक्षाबाट ठगिएर
निजीकरणको नङ्ग्राले चिथोरिएर
ठालुहरूको होच्याइँबाट थलिएर
थिलथिलो भएका पाठशालाहरूले जन्माइरहेछन्
बेरोजगार बहादुर कान्छाहरू
पुर्णिमालाई लखेटेर
औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा
चम्किरहेछन्
पितृसत्तात्मक सोचका ताराहरू
असमानताको कालोपत्रे बिछ्याउँदै
एउटै पाङ्ग्राले रथ हाँकिरहेछन्
एक्काइसौँ शताब्दीका अर्जुनहरू
पहिचान लुकाउनेहरूको विवशता देखेर
शीर निहुराउँदै मानवता झोक्राइरहेछ
आफैँले सजाएका मन्दिर, महलहरू हेर्दै
छुवाछूतले फाटेका मन सिलाउने मेशिन
आविष्कार नहुनुका कारणहरू
खोजिरहेछन् आरनहरू
सङ्कीर्णताको माला भिरेर
अहङ्कारको टीका लगाएर
ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै
शीतयुद्धमा भाग लिइरहेछन्
धर्मका अनुयायीहरू
हुरि, बतास र बर्षात्सँग
आत्मासमर्पण गरिरहेछन्
चिसो चुल्हो बोकेका श्रमजीविका बासस्थानहरू
वर्गीय उत्पीडनका खाडलहरू गहि¥याउँदै
बगिरहेछन् निरन्तर
भोकको आगोलाई निभाउन नसकेका
अभावलाई बगाउन नसकेका
पसिनाका नदिहरू
सुशासनको रटानले तिर्खाएर
धारा उपधाराहरूले
प्यास मेटेकाहरू सामुन्ने
ठडिइरहेछन् प्रश्नका सगरमाथाहरू
आखिर,
किन हटेनन् अझै विभेदहरू ?
खोटाङ
प्रतिक्रिया राख्नुहोस्