Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बाग्लुङमा महिलाहरुले तरकारी खेतीबाट गरे मनग्ने आम्दानी - Janabato

बाग्लुङमा महिलाहरुले तरकारी खेतीबाट गरे मनग्ने आम्दानी

महिलाहरुले गरे सामूहिक तरकारी खेती

बाग्लुङमा महिलाहरुले तरकारी खेतीबाट गरे मनग्ने आम्दानी


मंसिर १०, तारानाथ आचार्य । आफ्नो व्यक्तिगत खर्चसमेत मागेर काम चलाउनुपर्ने वाध्यताबाट यहाँका महिला मुक्त भएका छन्। भाडामा लिएको खेतबारीमा लगाएको तरकारी राम्रो आम्दानी दिन थालेपछि बागलुङको गल्कोट नगरपालिका वडा नं. १ दुदीलाभाटी थलिङका महिलाको जीवनस्तरमा परिवर्तन आएको हो।

यहाँका महिलाहरू ‘प्रगति एकीकृत कृषि तथा पशुपालन समूह’ दर्ता तरकारी खेतीमा लागेका हुन्‌‌। तरकारी खेतीबाट हुने आम्दानीले आफ्नो व्यक्तिगत र परिवारको खर्च चलाउँदै आएका छन्।

समूहको विधि र कानूनमा रहेर उनीहरू सामूहिक तरकारी खेतीमा जुटेका हुन्। स्थानीय रुपमै तरकारी उत्पादन गरि आत्मनिर्भर बन्ने उद्देश्यले १५ जना महिलाहरू संगठित भएका छन्। आफ्नो जग्गा नभएका महिलासमेत समूहमा आबद्ध छन्। सबैको लागि मान्य हुनेगरी उनीहरूले झमबहादुर खत्री, युवराज सुवेदी र बलबहादुर खत्रीको जग्गा भाडामा लिएर तरकारी उत्पादनको क्षेत्रमा अगाडि बढेको समूहका अध्यक्ष हरिमाया सुवेदीले बताइन्। 

मासिक ३ हजार रुपैयाँ भाडा तिर्ने सम्झौता ती जग्गामा लसुन, केराउ, रातो मुला, धनियाँ, काउली, बन्दा, सिमी, गाजर, आलुलगायतका तरकारी खेती लगाएका छन्। उनीहरूले उत्पादन गरेको तरकारी स्थानीय बजारमा बिक्री हुँदै आएको छ।

‘अहिलेलाई बजारको समस्या छैन,’ समूहकी अध्यक्ष सुवेदीले भनिन्, ‘उत्पादन बढ्दैछ, बजारीकरणका लागि केही समस्या आउँछन्, स्थानीय सरकारले सहयोग गर्नुपर्छ।’ 

हाल गल्कोटको मुख्य बजार हटिया र दुदिलाभाटीमा मात्र तरकारी खपत हुने गरेकाले सदरमुकाम लगायतका क्षेत्रमा पनि तरकारी पुर्‍याउनका लागि स्थानीय सरकारले भूमिका निर्वाह गर्न सकेमा महिलाहरू अझ बढी उत्साहित हुने समूहका सचिव पुष्पा सुवेदीले बताइन्।

पहिलो सिजनमा उत्पादन भएको रातो मुला स्थानीय बजारमै ५० रुपैयाँ किलोका दरमा र सिमी ८० रुपैयाँ किलोका दरमा बिक्री गरेका महिलाहरूले वडाबाट बिउ खरिदका लागि ५ हजार रुपैयाँ अनुदान पाएका थिए।

‘अनुदानका लागि होइन, आत्मनिर्भर बन्न खोजेका छौं, बजारको व्यवस्थाका लागि सरकारले सहयोग गरोस्,’ सचिव सुवेदीले भनिन्, ‘तरकारी खेतीका लागि समूहबाट सुरुवातमा करिव ७० हजार रुपैयाँ खर्च भएको छ।’ 

मासिक रुपमा प्रतिव्यक्ति १ सय रुपैयाँ संकलन गरि समूह संचालन गरेका महिलाहरूले तरकारीमा गोडमेल र पानी लगाउनका लागि पनि पालो मिलाएर काम गर्दै आएका छन्।