Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको निष्कर्ष - Janabato

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको निष्कर्ष

दोषी देखिए कारवाहीका लागि आयोगलाई लेखी पठाउने निर्णय

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको निष्कर्ष

पुष ३, बुटवल । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । समितिको शुक्रवारको बैठकले खरिद प्रक्रियामा संलग्न पदाधिकारीहरूमाथि थप छानबिन गरी दोषी देखिए कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय समेत गरेको समितिका सचिव डा. रोजनाथ पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

'सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि समितिलाई प्रतिवेदन दिएको थियो, त्यसमा समेत खरिद कानूनसम्मत छैन भन्ने छ,' सचिव पाण्डेले भने, 'खरिदमा अनियमितता देखिएकाले यस प्रक्रियामा संलग्न पदाधिकारीहरूमाथि थप छानबिनका लागि अख्तियारलाई लेखी पठाउने निर्णय भएको छ ।'

समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता देखिएको निष्कर्ष सर्वसम्मत रूपमा निकालेको पाण्डेले बताए । शुक्रवारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समेत उपस्थित थिए ।

उनले महामारीको समय र स्वास्थ्य सामग्रीको हाहाकार भएको बेलामा हतारमा सामान ल्याउनु परेको बताए ।

'मन्त्रीज्यूले आफ्नो धारणा राख्नुभयो, कोही दोषी देखिन्छ भने कारवाही हुनुपर्छ भन्ने उहाँको पनि धारणा छ,' सचिव पाण्डेले लोकान्तरसँग भने ।

कोरोनाभाइरस (कोभिड- १९) विश्वव्यापी महामारीका रूपमा फैलिएपछि गत चैत १२ गते सरकारले ओम्नी समूहसँग मास्क, स्यानिटाइजर, पीपीई, ग्लभ्स लगायतका स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो ।

ओम्नीले ल्याएका सामग्रीहरू कमसल रहेको र मूल्य अत्यधिक राखिएको पाइएपछि अनियमितताको आशंकामा यसको चौतर्फी विरोध भएको थियो ।

पछि सरकारले बाध्य भएर ओम्नीसँगको खरिद सम्झौता रद्द गरेको थियो ।

शुक्रवारको बैठकमा स्वास्थ्य मन्त्री ढकालले ओम्नी समूहले भनेको समयमा सामान ल्याउन नसकेपछि सम्झौता रद्द गरी धरौटीसमेत जफत गरेकाले अनियमितता भयो भन्न नमिल्ने जिकिर पेश गरेका थिए ।

उनको जवाफ समेत सुनिसकेपछि समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको हो ।