नेपालमा ६ लाख नागरिक रहेको भारतको दावी

नेपाल भारतीयहरु सबैभन्दा बढी बस्ने सातौँ राष्ट्र

नेपालमा ६ लाख नागरिक रहेको भारतको दावी

माघ २२, बुटवल । भारतले नेपालमा आफ्ना ६ लाख नागरिक बस्दै आएको जनाएको छ। भारतको माथिल्लो सदनमा बिहीबार भारतीय विदेश मन्त्रालयले विश्वका २ सय २१ वटा देश वा भूभागमा भारतीय नागरिक बस्दै आएको जानकारी दिएको हो। मन्त्रालयको अनुसार ती देशमा भारतबाट १ करोड ३१ लाख १४ हजार नागरिक रहेका छन्। त्यसमध्ये नेपालमा ६ लाख बस्दै आएका छन्। यो संख्या विदेशमा बस्ने भारतीयहरुको करिब साढे ४ प्रतिशत हो। नेपाल भारतीयहरु सबैभन्दा बढी बस्ने सातौँ राष्ट्र हो।

मन्त्रालयका अनुसार सबैभन्दा बढी भारतीय नागरिक संयुक्त अरब इमरेट्स (यूएई) मा छन्। सो देशमा ३१ लाख नागरिक रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी साउदी अरबमा २८ लाख १२ हजार, अमेरिकामा करिब १३ लाख, कुवेत ९ लाख २८ हजार, कतारमा ६ लाख ९१ हजार, ओमान ६ लाख ८८ हजार रहेका छन्। बहराइनमा ३ लाख १२ हजार ९ सय रहेका छन्।

त्यसैगरी मलेसिया करिब २ लाख २८ हजार, इजरायल १ लाख ७२ हजार, जर्मनी १ लाख ८ हजार भारतीय नागरिक बस्दै आएका छन्। त्यसैगरी बेलायतमा ३ लाख २५ हजार, फ्रान्समा १९ हजार, सिंंगापुर ३ लाख ५० हजार, चीनमा ५५ हजार ५ सय, हङकङमा ३२ हजार, ताइवानमा ३ हजार, अस्ट्रेलियामा २ लाख, रुसमा २८ हजार भारतीय बस्दै आएका छन्।