बिबिसीको प्रसारण बन्द : चीन

चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्याउने सामग्री प्रसारण

बिबिसीको प्रसारण बन्द : चीन

एजेन्सी/ चीनले  बेलायती प्रसारण संस्था बिबिसीको  बिबिसी वर्ल्ड न्युजको  प्रसारणलाई आफ्नो देशमा बन्द गरिदिएको छ।

चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको बताएको छ।

केही हप्ताअघि चीन सरकारले कोभिड(१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा  प्रणालीगत बलात्कार, यौन  र श्रम शोषण भइरहेको भन्दै बिबिसीले प्रसारण गरेका रिपोर्टको आलोचना गरेका थिए। बिबिसीका रिपोर्ट निराधार रहेको उल्लेख गर्दै उनीहरूले बिबिसीले गलत सूचना प्रवाह गर्न केही मानिसहरूलाई प्रयोग गरेको बताएका थिए। ुउक्त च्यानलले चीनमा विदेशी मिडियाले पालना गर्नुपर्ने नियम पालना नगरेकाले बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चिनियाँ भू(भागमा निरन्तरता दिन सकिन्न,’ चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनको विज्ञप्तिमा भनिएको छ। उसले बिबिसीले अर्को वर्ष प्रसारण अनुमतिका लागि दिने निवेदन पनि स्वीकार नगर्ने बताएको छ।

यसअघि पनि बिबिसी चीनका केही  होटल, व्यापारिक केन्द्र  र विदेशीका  आवासीय केन्द्रबाहेक बाहिर प्रसारण हुँदैनथ्यो । बिबिसी चिनियाँ अधिकारीहरूको लिएको  यस्तो निर्णयले दुस्खित बनाएको उल्लेख गर्दै बिबिसीले कसैको डर र लोभमा नपरी संसारभरिबाट निष्पक्ष समाचार संकलन र प्रसारण गरिरहेको बताएको छ। बिबिसीमाथिको यो प्रतिबन्धले चीन र बेलायतबीच पछिल्लो चिसिँदै गएको सम्बन्धलाई झन् खस्काएको छ। गत वर्ष  बेलायतको पूर्वउपनिवेश हङकङमा बेइजिङले राष्ट्रिय सुरक्षा कानुन लागु गरेर विपक्षीहरूमाथि दमन सुरू गरेसँगै ठूला व्यापार साझेदार यी मुलुकको सम्बन्धमा तनाव सुरू भएको थियो।  त्यसपछि बेलायतले चिनियाँ लगानीमा थप प्रतिबन्ध लगाएको थियो।

बेलायती विदेश मन्त्री डोमिनिक राबले बिबिसीमाथिको प्रतिबन्धलाई  मिडिया स्वतन्त्रतामाथिको अस्वीकार्य अंकुश भनेका छन्। यसले संसारको आँखामा चीन  छविलाई धुमिलमात्र बनाउने उनको भनाइ छ।   चिनियाँ सरकारको यो निर्णय यही महिना बेलायतले गरेको सिजिटिएन टेलिभिजनको प्रसारण अनुमति फिर्ता लिने निर्णयको बदला पनि हो। अंग्रेजी भाषाको टेलिभिजन सिजिटिएनलाई चिनियाँ कम्युनिष्ट  पार्टीको नियन्त्रणमा रहेको भन्दै बेलायतले लाइसेन्स फिर्ता गर्ने निर्णय गरेको थियो।