सहिद तथा बेपत्ता योद्धा परिवारको दायित्व

सहिद एवम् बेपत्ता योद्धा परिवार क्रान्तिका शक्ति : विप्लव

सहिद तथा बेपत्ता योद्धा परिवारको दायित्व

हालै दलाल पुँजीवादी सत्ताको उपनिर्वाचनमा बेपत्ता योद्धा कमरेड पूर्ण पौडेलकी आदरणीय आमा मोतीमाया पौडेल भोट हाल्न जानुभएन । यो कुराले एकीकृत जनक्रान्तिमा लामबद्ध योद्धाहरूमा विशेष भाव उद्वेलन पैदा ग¥यो । आदरणीय आमा मोतीमाया उमेरमा पाकै भएर पनि उहाँले सहिद एवम् बेपत्ता योद्धाहरूको बलिदानलाई उत्कृष्ट रूपले आत्मसाथ गरेको पाउँदा हाम्रो शिर श्रद्धाले उचो भयो । हामीमा यस्तो ऊर्जा पैदा भएको छ– क्रान्तिको बाटो छेक्ने वैरीहरू भुसुनाजस्ता लागिरहेका छन् । उनीहरू एक दिन धुलोपिठो हुनेछन् र सहिद तथा बेपत्ता योद्धाहरूको सपना वास्तविक जीवनमा परिणत हुनेछ । उहाँको व्यवहारबाट हामी लडिरहेकाले मात्र होइन, महान् सहिद तथा बेपत्ता योद्धा परिवारहरूले पनि गम्भीर दायित्वबोध गर्न आवश्यक छ । 

प्रायः सबै सहिद तथा बेपत्ता योद्धा परिवारले सहिदको सपना र क्रान्तिको सरदर अर्थ बुझेकै अवस्था हो । जनयुद्धको सार सामन्ती तथा दलाल पुँजीवादी सत्तालाई समाप्त पार्नु र नयाँ जनवादी—वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु थियो । जनयुद्धमा जति पनि योद्धाहरूले बलिदान गर्नुभयो सबैको इच्छा, चाहना एवम् लक्ष्य नयाँ जनवाद—वैज्ञानिक समाजवाद प्राप्त गर्नु थियो । नयाँ सत्ताले पुरानो सत्ता समाप्त पार्दै लगेको स्थिति पनि थियो । प्रचण्ड—बाबुराम—बादलहरूले दलाल पुँजीवादी सत्तासामु आत्मसमर्पण गरेका कारण महान् सहिदहरूको इच्छा अधुरै रह्यो । यो सत्य पनि सहिद परिवारहरूले बुझेकै विषय हो । सहिदहरूको सपनामा घात गर्दा सहिद परिवारमा चर्को पीडा अनुभव भएको पनि हामीले देखेकै छौँ । 

वास्तवमा हामीले प्रचण्डहरूको आत्मसपर्मणवादविरुद्ध गरेको विद्रोह सहिद एवम् बेपत्ता योद्धाहरूका सपनामा उनीहरूले गरेको घात नै मुख्य छ । हामीले आज अगाडि बढाइरहेको एकीकृत जनक्रान्ति पनि सहिद, बेपत्ता एवम् घाइते योद्धाहरूको सपना पूरा गर्ने लक्ष्यसँग सम्बन्धित छ । यसकै कारण दलाल पुँजीवादी सत्ता र सामाजिक दलाल पुँजीवादी (केपी—प्रचण्डको) सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएको छ । हाम्रा दर्जनभन्दा बढी कमरेडहरूको सहादत भएको छ भने केन्द्रका नेताहरूदेखि सयौँजना कमरेडहरू जेलमा हुनुहुन्छ । तथापि क्रान्ति सुदृढ हुँदै गएको छ । सहिद परिवारहरूले यो विषय पनि बुझ्नुभएको छ ।

दलाल पुँजीवादी सत्ताका विरुद्ध क्रान्ति अगाडि बढाइरहेको शक्तिका हिसाबले भन्न सक्छौँ– महान् सहिद एवम् बेपत्ता योद्धाका सपनाहरूप्रति सबैभन्दा सचेत सहिद परिवार हुनुपर्छ । सहिद एवम् बेपत्ता योद्धाहरूको लक्ष्यप्रति इमानदार हुनुपर्छ । सहिदहरूप्रति इमानदार हुनु भन्नुको सार क्रान्तिका पक्षमा दृढतापूर्वक उभिनु, क्रान्तिको समर्थन जुट्नु र क्रान्ति सफल पार्नका लागि योगदान गर्नु हो । 

आज भनाइका कम्युनिस्ट तर व्यवहारमा दलाल पुँजीवादी सत्ताका रक्षकमा पतन भइसकेका केपी—प्रचण्डहरूले महान् सहिद तथा बेपत्ता योद्धा परिवारहरूलाई आफ्नो तुच्छ स्वार्थका लागि भ्रममा पार्ने र सहिद तथा बेपत्ता योद्धाहरूकै विरुद्ध प्रयोग गर्ने षड्यन्त्र गरिरहेका छन् । यतापट्टि कैयौँ सहिद एवम् बेपत्ता योद्धा परिवारहरूको सचेत ध्यान नपुगेको देखिन्छ । 
विनम्रतापूर्वक हामीले आग्रह गर्नैपर्छ महान् सहिद तथा बेपत्ता योद्धा परिवारहरू दलाल पुँजीवादी सत्ताका नाइके र भरौटेहरूले देखाउने सानातिना लोभलालच वा भावनामा फस्नु हुँदैन । थोरै आर्थिक प्रलोभन वा केही पदका लागि दुरूपयोग हुनु हुँदैन । आफ्नै सपूत–सुपुत्रीको जीवन निमोठ्ने दलाल सत्ता रक्षा गर्ने हतियार बन्नु हुँदैन । बरु सहिद तथा बेपत्ता योद्धा परिवारहरूले महान् क्रान्ति र सहिदका सपनाप्रति गद्दारी गर्ने धोकेबाजप्रति निर्मम बन्नुपर्छ । उनीहरूविरुद्ध तीखो सङ्घर्ष गर्नुपर्छ । उनीहरूबारे जनतामा भ्रम पर्नु हुँदैन । समाजमा उनीहरूलाई नाङ्गेझार पार्दै एक्ल्याउनुपर्छ । 

सहिद एवम् बेपत्ता योद्धा परिवार क्रान्तिका शक्ति हुन् । उनीहरूले क्रान्तिको भेलमा हेलिएका योद्धाहरूको सफलताको कामना मात्र गरे पनि, योद्धाहरूलाई न्यानो माया दिए मात्र पनि अपराजेय तागत पैदा गरिदिन्छ । एकजना बेपत्ता योद्धाकी आमा मोतीमायाको सोचाइ, निर्णय र आँटले हामीलाई कति शक्ति थपिदिएको छ भने हजारौँ सहिद एवम् बेपत्ता योद्धाहरूका परिवारहरूको साथसहयोग रह्यो भने क्रान्तिको उचाइ कति माथि उठ्ला, क्रान्तिकारीहरूको विश्वास कति बलियो होला, सहजै अनुमान लगाउन सकिन्छ । यति कुरा पूर्ण विश्वासका साथ भन्न सकिन्छ– अन्ततः सहिद तथा बेपत्ता योद्धा परिवारहरू क्रान्तिका समर्थक र सहयोगी नै हुन्छन् । उनीहरूको त्यही बलमा क्रान्तिकारीहरूले महान् सहिद तथा बेपत्ता योद्धाहरूको अजम्मरी सपना पूरा गरिछाड्नेछन् । विजय दलाल पुँजीवादी सत्ता र नामधारी कम्युनिस्ट पुँजीपतिहरूको होइन, क्रान्तिको हुनेछ । क्रान्तिलाई संरक्षकत्व दिने आदरणीय आमा मोतीमायालाई न्यानो अभिवादन ! महान् सहिद तथा बेपत्ता योद्धाहरू सदासर्वदा अमर रहून् । 

१५ माघ, २०७६
बलिदान गाथा (सहिद सप्ताह २०७६)