Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
मजदुर - Janabato

मजदुर

छिन्नभिन्न पारिदेउ उनीहरूको सपनाको हाटबजार र स्थापित गर आफ्नै सपनाको केन्द्र ।

मजदुर

-प्रदीप राहादी मगर 

मजदुरहरू,
पसिनाको गन्धसँगै
जीवनको रङ घोलिरहेछन् 
सहरका प्रत्येक गल्ली–चोकहरूमा
गाउँका प्रत्येक सुन्दर बस्तीहरूमा
जन्मिरहेछन् मजदुरहरू
र जन्माइरहेछन् श्रमिक वर्ग ।

प्रत्येक समय
हिँउतुसारोमा फलामे ओजन
तातो बाफमा गिट्टी, बालुवाका कण 
पसिनाको खेती र धुलाम्य शरीर
यस्तै–यस्तै
तिम्रो एकपछि अर्को शृङ्खला 
तिम्रो सपनाको चिच्याहट देखेपछि 
मलाई भन्न मन लागिरहेछ, कि
किन यति सामान्य भएका होलान् मजदुरका कथाहरू
किन यति भोका भएका होलान् मजदुरका सपनाहरू
किन यति नाङ्गा भएका होलान् मजदुरका शरीर ?

एकपछि अर्को समय फरक हुनु समय हो
त्यसैले, आउ ! एक मजदुर 
जम्मा गर मजदुरका कथाहरू
प्रतिनिधित्व गर सारा मजदुरको
र लात मार सपनाको हत्याराहरू माथि ।
छिन्नभिन्न पारिदेउ
उनीहरूको सपनाको हाटबजार
र स्थापित गर आफ्नै सपनाको केन्द्र
अखबारमा छापिदेऊ मजदुुरका कथाहरू
घोषित गरिदेऊ मजदुरको देश भनेर 
र मनाऊ तिम्रो विजय उत्सव ।

१२ कार्तिक, २०७७