जनपत्रकार संगठन नेपालका उम्मेद्वारहरू चुनावी मैदानमा

निर्वाचितमा जिताउन उम्मेद्वारहरुको अपिल

जनपत्रकार संगठन नेपालका उम्मेद्वारहरू चुनावी मैदानमा

चैत २४, बुटवल । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा हुने प्रत्यक्ष प्रणालीमा आधारित निर्वाचनमा जनपत्रकार संगठन नेपालका तर्फबाट केन्द्रीय महिला उपाध्यक्षमा दाना केसी (सुवेदी), केन्द्रीय सदस्यहरूमा सुदर्शनराज पाण्डे र बसन्त विक चुनावमा उत्रिएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा समावेशी सचिवमा राजेन्द्र रावत क्षेत्री र सदस्यमा कुलराज बञ्जाडेले उम्मेद्वार दिएका छन् । 

त्यसैगरी अर्घाखाँचीमा समावेशी सहसचिवमा अनिल नेपाली निर्विरोध निर्वाचित भइसकेका छन् । उम्मेद्वारहरुले श्रमजीवी पत्रकारहरुको हकहित, अभिव्यक्ति स्वतन्त्रता र वैचारिक नेतृत्वका लागी पत्रकार महासंघमा आफ्नो नेतृत्व आवश्यक भएको उम्मेद्वारी दिएको बताएका छन् । 

जनताको पक्षमा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका जनपक्षीय पत्रकारिता गर्दै आइरहेका संगठनका उम्मेद्वारहरुलाई मतदात गरेर निर्वाचनमा जिताउन संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर विकले अपील गरेका छन् ।

जनपक्षीय उम्मेद्वारहरुले श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, प्रेस विरोधी कानुनहरुको खारेजी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, मिडियामा गरिएको स्वदेशी तथा विदेशी लगानीको पारदर्शिता हुनुपर्ने, महासंघलाई सत्ता, शक्ति, कर्पोरेट मिडिया तथा अन्तर्राष्ट्रिय आइएनजिओको दबाब र प्रभावबाट मुक्त बनाइ स्वायत्त रुपमा काम गर्ने हैसियतमा विकास गनुृपर्ने, सिंगो पत्रकारिता क्षेत्रका विकृति विसंगतीहरुको नियमन गर्ने र मिडिया र पत्रकारहरुको दलालीकरणको अन्त्य गरी निष्पक्ष, जनपक्षीय, जनउत्तरदायी र जिम्मेवार बनाउनुपर्ने, दर्ताको आधारमा साना तथा स्वरोजगारमुखी मिडियाहरुलाई विना धितो सहुलियत ऋण दिनुपर्ने तथा समानुपातिक विज्ञापन प्रणाली लागू गरिनुपर्ने लगायतका मुद्दाहरु अगाडि सारेका छन् ।

जनपत्रकार संगठन सहित संयुक्त गठबन्धनका तर्फबाट निर्मला आचार्यको नेतृत्वमा उम्मेद्वारी घोषणा गरेको छ । जसमा प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाललगायत आबद्ध रहेका रहेका छन् । लुम्बिनी प्रदेशमामा संयुक्त गठबन्धनका तर्फबाट भरत केसीको नेतृत्वमा सोही गठबन्धन रहेको छ । रुपन्देहीमा प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, संघीय पत्रकार मञ्चबीच गठबन्धन रहेको छ । संयुक्त गठबन्धनका तर्फबाट उम्मेद्वारीको नेतृत्व दिनेश पाण्डले गरेका छन् भने जनपत्रकार संगठन नेपालबाट उम्मेद्वार रहेका छैनन् ।  नवलपरासी, पाल्पा, कपिलवस्तु, नवलपुरमा पनि संगठनको तर्फबाट कुनै उम्मेद्वार रहेको छैन ।

सामाजिक सञ्जालमा  नवलपरासी, रुपन्देही र कपिलवस्तुमा जनपत्रकार संगठन नेपालको तर्फबाट उम्मेद्वारी भनेर गरिएको प्रचार गलत रहेको संगठनले बताएको छ ।