बेपत्ता कुरिरहेकी आमा

ती वेपत्ता योद्वाहरू स्मृतिमा बाँचिरहनेछन्

बेपत्ता कुरिरहेकी आमा

महान जनयुद्वको क्रममा राज्यद्धारा करिब ११ सयभन्दा बढी बेपत्ता पारिए । करिब ८ हजार ५ सयभन्दा बढी राज्य पक्षद्धारा माओवादी योद्वाहरूको सहादत भयो । दुवै पक्षमा करिब १७ हजार बढीको क्षति भयो । हज्जारौंको सङ्ख्यामा घाइते अङ्गभङ्ग भए । ती बेपत्ता योद्वाहरुको अवस्था भने अहिलेसम्म अज्ञात छ । न त पुरा भए सहिदका सपनाहरू । राज्यले बेपत्ता योद्वाहरूको अवस्थाबारे केही बताएको छैन । मुलुक ‘शान्ति प्रक्रिया’मा पुगेको डेढ दशक बितिसक्दा पनि बेपत्ताको अवस्था सार्वजनिक नहुँदा पीडितहरूको घाउ सन्चो भएको छैन । 

रूपन्देही बाँसगढीकी ७२ वर्षीया तुलसा पाण्डेलाई घरमा नौलो मान्छे आउनेबित्तिकै पुराना दिनका यादहरू आउँछन् । उनको स्मृतिको एल्बममा आफ्ना दुई छोराका तश्वीर घुमिरहन्छन् । अनि भन्छिन्, ‘अब त छोराहरू नदेखेरै मर्ने भएँ ।’ उनलाई थाहा छैन आफ्ना बेपत्ता छोरा जीवित छन् वा छैनन् । तैपनि मर्नुअघि एकपटक मात्रै भएपनि हेर्न पाए हुन्थ्यो भन्ने लाग्छ । जनयुद्धको क्रममा उनका दुई छोराहरू–दुर्गा सहिद भएका थिए भने युवराज बेपत्ता । हामी २६ औं महान जनयुद्धको पूर्वसन्ध्यामा पश्चिम राजमार्गको धुलो टकटक्याउँदै सहिद तथा बेपत्ता सन्तानकी आमा तुलसा पाण्डेको घर बासगढी पुग्यौं । हाम्रो टिम थियो–बिहानी, रूपा, पारस र म ।  

रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ बाँसगढीमा रहेकी सहिद तथा बेपत्ता परिवारकी आमा तुलसालाई हामीले कोशेली लिएर भेट्न पुग्दा निकै खुशी भइन् । हामीले आमा र परिवारको स्वास्थ्य अवस्था बुझेपछि हाम्रो उद्देश्यबारे बतायौं । हामीले सुरूमा नै छोराहरूको फोटो देखाउन भन्यौं । आमाले हामीलाई घरभित्र कौशीमा लहरै राखिएको छोराहरूको फोटो देखाइन् । फोटाका अनुहारहरू थिए–निकै चम्किलो र ओजस्वी । उनीहरूका आँखाले एकोहोरो हेरिरहेका थिए–निकै सुदूर क्षितिजसम्म । हामीले निकैबेर उभिएर सहिद र बेपत्ता योद्वाहरूका फोटो नियाल्यौं । आमा तुलसाले सहिद र बेपत्ता छोराका फोटो देखाएपछि निकैपटक दोहो¥याउँदै भनिन्, “सहिदहरूका सपना पुरा भएनन् बाबु ! टाठाबाठाहरू मात्रै फेरिए ।” आमाको हृदयबाट निस्किएको आर्तनाद कोलाज सुनेपछि सहिदहरूका करङको भ¥याङ टेकेर सत्तामा पुगेका प्रचण्ड, बाबुराम, बादलका अनुहारहरू खुब सम्झिएँ मैले ।   

सहिद दुर्गा र बेपत्ता युवराजको फोटो हेरिपछि हामी पताङ्गिनीमा बसेर आमासित अन्तरङ्ग सुरू ग¥यौं । हामीसित अन्तरङ्गको क्रममा जब आमा दुई छोराहरूको स्मृति–संवेदनाको अनकन्टार जङ्गल पुगिन्, आमा एकाएक निशब्द भइन्, गला अवरूद्व भयो र आँखाको डिलबाट टप्किएको आँसुले चश्माको सिसा भिज्यो । सिसामाथि टप्किएको आमाको त्यो आँसुको तलाउमा हामीले हज्जारौं सहिद र वेपत्ता योद्वाहरूका सजीव चित्र देख्यौं । अर्थात् आमाको हृदयमा थाम्नै नसकिने गरी उर्लिएको पीरको बाढी देखेर निकैबेर द्रवित भयौं हामी । 

छोराहरूका विगत सम्झेर घरिघरी पिरोलिएको छ आमाको छाती । आमाका दुई छोराहरू एउटै बर्ष पाँच महिनाको फरकमा २०६० फागुन १७ गते जेठो छोरा दुर्गालाई तत्कालीन शाही सेनाले कुटी–कुटी हत्या ग¥यो यो भने कान्छा युवराजलाई २०६० असोज १९ गते शाही सेनाले नै बेपत्ता बनायो । अहिले बर्षौ वितिसक्यो । तर आमाको मन न हो ! अझैसम्म आँखा ओछ्याएर बाटो हेरिरहेकी छन् । नौला मान्छेहरू आउने वित्तिकै आमाको स्मृति एल्बममा उसैगरी छोराका तश्वीरहरू दोहोरिरहन्छन् । तुलसाले छोराहरूको अहिलेसम्म न सास पाए, न लास ।

छोराहरूको नाममा आएको केही रकमले सहिद–वेपत्ता स्मृति गेट बनाएकी छन् । र, गरिबका सन्तानका लागी स्कूलमा छात्रवृत्ति कोष राखिदिएकी छन् । छोराहरू त वेपत्ता नै भए, तर महान जनयुद्धका कमाण्डर प्रचण्ड–बाबुरामहरू पनि उसैगरी वेपत्ता भए । अर्थात् उनीहरूले बिर्सिए–महान सहिदका सपनाहरू । अहिले सिसमहलमा बसेर सहिद तथा वेपत्ता परिवारका छातीमा बुटले कुल्चिरहेछन् गद्दारहरू । सहिद तथा वेपत्ता, घाइते योद्वाका सन्तानहरूको बाँकी हाडखोर लुछिरहेछन् गद्दारहरू । तुलसा भन्छिन्, “जनयुद्धका उतिबेलाका कमाण्डरहरूले धोका थिए तर मैले सहिदहरूले देखाएको बाटो छोडिनँ बाबु ।” सहिद तथा वेपत्ताका सन्तान र उनीहरूका परिवारको अवस्था दयनीय छ । आमा तुलसाको ओटलाग्ने पुरानो पुख्र्यौली घर त छ तर राम्रो छानो छैन । घरमा सुत्ने राम्रो ओछ्यान छैन, राम्रा पकाउने भाँडाकुडाहरू छैनन् । आमाको आँसु पुछिदिने दुई छोरीहरू र दुई नाती छन् । जेठी छोरी गुल्मी छिन्, कान्छी बिष्णुले आमाको स्याहासुसार गर्छिन् । उनै हुन् आमाका सहारा । 

आमासितको संवादपछि मैले सहिद परिवारका अगुवाहरूसित भलाकुसारी गरेँ । जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनका अध्यक्ष खुमा सुवेदीले राज्यले सहिद तथा वेपत्ता योद्वाहरूलाई केही गर्न नसकेको बताईन् । उनी भन्छिन्, “जनयुद्धका कमाण्डर प्रचण्ड दुईपटक प्रधानमन्त्री भए, बाबुराम प्रधानमन्त्री र अर्थमन्त्री भए, बादल गृहमन्त्री भए, धेरै मन्त्री भए तर जनयुद्वका सहिद तथा वेपत्ता योद्वा र उनका परिवारबारे उल्लेखनीय केही गर्न सकेनन् ।” उनले अब राज्यप्रति विश्वास नभएको बताईन् । सहिद तथा वेपत्ता परिवारले आफ्ना माग लिएर सडक आन्दोलन गर्दा राज्यले दमन गरेको बताउँदै सुवेदीले भनिन्, “सडकमा आन्दोलन गर्दा हामीलाई विचार र आस्थाको आधारमा राज्यले छानी–छानी दमन ग¥यो ।” सुवेदी निराश भने थिइनन् । उनले सहिद तथा वेपत्ता योद्धाहरुको सपना पुरा गरेरै छाड्ने बताईन् । 

सहिद बेपत्ता योद्वा परिवारका प्रमुख खिमा रिजालले सहिदका सपनाहरू पुरा नभएको बताउँछिन् । उनी भन्छिन्, “सरकारले ७ हजार ५ सयलाई सहिद घोषणा त ग¥यो तर राजपत्रमा प्रमाणित नगरेर सहिदहरुलाई अस्वीकार ग¥यो ।” उनी भन्छिन्, “बरू हत्याराहरू खुलेआम सडकमा हिँडिरहेको देख्दा हामीलाई पलपल मृत्युको अनुभूति भइरहेको छ ।” रिजालले सहिद तथा वेपत्ताबारे राज्यले नीतिगत निर्णय गर्नुपर्ने बताईन् । उनले सहिद तथा वेपत्ता योद्वाहरूको योगदानलाई पैसासँग मात्र तुलना गर्न नहुने उनीहरूका अधुरो सपना पुरा गर्नुपर्ने बताईन् । 

घाम पश्चिम ढल्किएपछि हामी आमासित छुट्टियौं । केहीबेर पैदल हिँडेर मोडियौं उत्तरतिर । ‘सहिद वेपत्ता गेट’मा पुगेर दुर्गा र युवराजको प्रतिमा र नाम कुँदिएका सुनौला अक्षरहरू केहीबेर नियाल्यौं । ती अक्षरहरूसँगै फेरि आमाको आँखाबाट बगेका बलिन्धरा आँसु, कौशीमा राखिएका सहिद तथा वेपत्ता योद्वाहरूको त्यो ओजस्वी तश्वीर र आमासँग अन्तरङ्गका आलो स्मृतिहरू उसैगरी दोहोरिए । फर्किदा बाटोभरि प्रश्नहरूले डसिरह्यो–के सहिद तथा वेपत्ता योद्वाका सपनाहरू पुरा होलान् ? के सहिद आमाका आँखाबाट बगेका द्रवित हृदयले न्याय पाउला ? अहँ, चल्तीको जीर्ण व्यवस्थाबाट उनीहरूका सपनाहरू पुरा हुँदैनन् । सहिदको रगतको फाल्सामा टेकेर सत्तामा पुगेका गद्दारहरूबाट ती सपना पुरा हुँदैनन् । रगतको महागाथालाई गिद्देभोज गर्ने गद्दारहरूबाट उनीहरूका सपनाहरू पुरा हुन सक्दैनन् । रगतको इतिहासलाई भट्टीको तीनपानेसित साट्नेहरूले सहिदका सपनाहरू पुरा गर्दैनन् । ती महान योद्वाहरूका सपना पुरा हुन बाँकी छ । ती महान योद्वाहरूका जिजीबिषाहरू जनताका हृदयमा शिलालेख भएर अजरअमर रहेका छन् । त्यसलाई पुरा गर्ने अभिभारा हाम्रो काँधमा छ । ती योद्वाहरू जति बाँचे, अनन्त बाँचे । ‘पर्वत पन्छाउने बुढो मान्छे’को चिनियाँ कथामा जस्तै महान योद्वाहरूको सपना पुरा गर्ने लक्ष्यमा हामी दृढ छौं । ती सहिदहरू गए इतिहास निर्माण गरेर, तर युग–युग बाँचिरहनेछन् अन्तरहृदयमा शिलालेख बनेर । ती वेपत्ता योद्वाहरू अविराम स्मृतिमा बाँचिरहनेछन् । 
०००

(लालदिशा)