–साया सापकोटा
आएथे एक हूल मान्छेहरू सायलको झुप्रोमा
र एक स्वासमा भनेथे —
ए सायल ! कति बस्छौ यो झुप्रोमा
आफ्ना भावना बहकाउँदै
बाहिर आएर हेर त
दलालहरूले राष्ट्रघाती सम्झौता गर्दैछन्
जनतामाथि अत्याचारको पिरामिड बनाउँदै छन्
सहिदको रगत र जनताका पसिनाको रङ्गोली खेल्दै छन्
ए कवियत्री ! किन हाम्रा पिडा शब्दमा उतार्दिनौ ?
देशभक्तिका चार कविता किन लेख्दिनौ ?
चिच्याएर किन प्रश्न गर्दिनौ, ती गद्धारहरू माथि ?
‘यो देश कस्को पेवा हो ?’
अब शब्दका बारुदगोला बनाऊ सायल
धारिला हरियार बनाऊ
जसले दुष्टको शिर छेद गर्न सकोस्
सायल !
आफ्नो स्वार्थ तुहिने देखेर तिमीलाई गलाउन खोज्नेछन्
कमजोर ठान्ने छन् महिला भनेर
तिनीहरूलाई सुनाइदिनु चुनु, च्याङ् र रोजाका जीवनी
जाऊ र देशमाथि घात गर्नेको छातीमा
लात हानेर आऊ, रन्थनिने गरि
मेरी प्रेमिका !
तिमी पाउको छङ्छङ् होइन, हतियारको आवाजसँग हिँड
स्याल बसेको कथित सिंहदरबारमा जाऊ, बालुवाटारमा जाऊ
कठपुतलीहरूको मुटुमा आधीँ चलाएर आऊ
सिकाउनू तिनीहरूलाई
निःस्वार्थ प्रेम के हो ? देश के हो ?
अनि त्यो तुलो चुडाउँन नभुल्नू
जसमा, राष्ट्रघातीद्वारा एक एक टुक्रा जमिन जोखिजोखि बेचिन्छ
प्रिय सायल !
अब तिमी जनकवि बन्नुपर्छ
र लेख्नुपर्छ – आगो, आधिँ र विद्रोह !
बागीनेतृ बन्नुपर्छ
र मोर्चा कस्नुपर्छ मूक्तिको लागि
हो, त्यसै दिनदेखि
म हरेक क्षण संघर्षको मैदानमा देख्नेछु सायललाई
जनताको बिचमा क्रान्तिको सौगात बाँडिरहेको देख्नेछु
०००
प्रतिक्रिया राख्नुहोस्