नेकपाद्वारा अस्पतालमा प्रतिक्षालय शिल्यानास !

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा बिरामी कुरुवा प्रतिक्षालय शिलान्यास गरेको छ । प्रतिक्षालयको शिलान्यास मंगलबार दिउँसो नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल वलीले  गरेका थिए ।

कार्यक्रममा इन्चार्ज शितलले कोरोनाविरुद्ध राज्यले प्रचारात्मक रूपमा केही गरे पनि मूलभूत रूपमा जनताप्रति उत्तरदायी ढंगले काम नगरेको बताए । जनताको जीवनरक्षालाई बेवास्ता गर्दै राज्यले सत्ता लुछाचुँडीको बेमौसमी बाजा बजाइरहेको उनको भनाई थियो । कोरोना संक्रमित बिरामीका आफन्त तथा कुरुवालाई ओत लाग्ने कुनै संरचना नभएकाले आफूहरूले प्रतिक्षालय निर्माण गर्न लागेको उनले बताए । उनले प्रतिक्षालय निर्माणमा केही जनताप्रति उत्तरदायी व्यवसायीको सहयोग रहेको र पार्टीका नेता कार्यकर्ताको श्रमदानबाट निर्माण पुरा गरिने बताए । ‘यहाँ उपलब्ध सम्पूर्ण नेता–कार्यकर्ता पार्टीको लक्ष्य योजना अनुसार काममा खट्नुहुने छ र हामीले एक साता भित्रै यो प्रतिक्षालय निर्माण गरिसक्ने छौं,’ उनले भने । 
 
कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपानेले प्रतिक्षालय निर्माण भए बिरामीका आफन्तलाई ठूलो राहात मिल्ने बताए । कोरोना अस्पताल नजिकै नेकपाले प्रतिक्षालय निर्माण गर्ने कार्य अत्यन्तै सकारात्मक र जनहितमा रहेको उनले बताए । 

कार्यक्रममा बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलक योगी र वीरेन्द्र विक, राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंह लगायतको सहभागिता थियो । 

प्रतिक्षालय शिलान्यास कार्यक्रमको सञ्चालन मनोज परियारले गरेका थिए ।