बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्लाका स्थानीय तहहरूमा विभिन्न मागहरू राख्दै मागपत्र बुझाएको छ । कोभिड – १९ महामारीले जनजीविका, जनस्वास्थ्य तथा शैक्षिक क्षेत्रमा नराम्ररी प्रभाव परेको तर त्यसप्रति सरकार गम्भीरतापूर्वक उत्तरदायी नबनेको भन्दै ७ बुँदे मागपत्र जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहहरूमा मागपत्र बुझाएको हो ।
सो संगठनले “कोभिड–१९ विरुद्ध बिद्यार्थी अभियान” सञ्चालन गरिरहेको छ । यसै अभियान अन्तर्गत जिल्लाका स्थानीय तहहरूमा ७ बुँदे माग राख्दै मागपत्र बुझाएको हो । संगठनले यस अघि सचेतनामूलक ब्यानर टाँस्ने, रक्तदान, मास्क, सानिटाइजर वितरणलगायतको कार्यक्रमहरू गरेको थियो ।
मागपत्रको पूर्णपाठ :
श्री प्रमूख ज्यू, बुटवल उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, बुटवल ।
बिषय : मागपत्र
हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी), रुपन्देही शैक्षिक क्षेत्रको सवाल तथा राष्ट्रियता, जनस्वास्थ्य, जनजीविकाको सवालमा निरन्तर संघर्ष गर्दै आइरहेको संगठन हो । कोभिड – १९ संक्रमणको यस बिषम परिस्थितिमा जनजीविका तथा जनस्वाथ्यलाई ध्यानमा राखि सचेतनामूलक कार्यक्रमहरू, मास्क, सानिटाइजर वितरणलगायतका विविध कार्यक्रमहरू निरन्तर गर्दै आइरहेको अवगत गराउन चाहान्छौँ । जनस्वास्थ्य, जनजीविका तथा शैक्षिक सवालमा स्थानीय सरकारले निम्न कामहरू तत्काल गरोस् भन्ने हाम्रो संगठन जोडदार माग गर्दछ ।
मागहरू :-
१) अक्सिजनको आपूर्ति, आइसियू, भेन्टिलेटरको व्यवस्था, सम्पूर्ण स्वास्थ्य सामग्रीहरूको सहज र शुलभदरमा उपलब्ध गराउनको लागि तत्काल काम गरियोस् ।
२) कोभिड–१९ संक्रमणको यस यस बिषम परिस्थितिमा निजी अस्पतालहरूले अमानवीय र अनैतिक ढङ्गले रकम असुलिरहेकाले तत्काल अनुगमन गरि कारबाही गरियोस् ।
३) कोभिड–१९ संक्रमितहरूको बढिरहेको सङ्ख्या तथा अस्पतालमा बेड अभाव भइ उपचारबाट बञ्चित हुनुपरिरहेको यस अवस्थामा निजी अस्पतालहरूमा पनि कोभिड–१९ संक्रमितको उपचार गर्ने व्यवस्था तत्काल मिलाइयोस् ।
४) महामारीको मौका छोपि स्वास्थ्य सामग्री, दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, ठगी गर्ने तथा सवारी साधनहरूले समेत मनपरि भाडा असुलीरहेकाले तत्काल अनुगमन गरि कारवाही गरियोस् ।
५) दैनिक ज्यालादारी मजदुर, भाडामा बसिरहेका बिद्यार्थी, विपन्न नागरिकको परिवारलाई तत्काल राहत उपलब्ध गराइयोस् ।
६) लकडाउनको समयावधिको शैक्षिक संस्थाहरूले असुल्ने शुल्क तथा भाडामा बस्ने बिद्यार्थीहरूको कोठा भाडा मिनाहा गराइयोस् ।
७) कोभिड–१९ महामारीको कारण छाएको शैक्षिक अन्योलता तत्काल अन्त्य गरियोस् । बिद्यालयहरूका परिक्षाहरू आन्तरिक मूल्याङ्कन विधिबाट गरियोस् ।
अध्यक्ष
ईन्दु वली
प्रतिक्रिया राख्नुहोस्