१७ साउन २०७१ मा सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट १४५ जनाले ज्यान गुमाए भने १२७ परिवार पूर्ण रूपमा विस्थापित भए । त्यसको ९ महीनापछि १२ वैशाख २०७२ मा गएको भूकम्पमा सिन्धुपाल्चोकका मात्रै ३ हजार ५७५ जनाले ज्यान गुमाए । जुन भूकम्पका क्रममा ज्यान गुमाएको कुल मृतक संख्याको एक तिहाइभन्दा बढी हो ।
वि.सं. २०७३ असारमा भोटेकोशीमा गएको बाढीबाट लिपिङ र तातोपानी लगायत क्षेत्रका ८१ घर बगे जसबाट लाखौं रुपैयाँ बराबरको क्षति पुग्यो । ८ साउन २०७४ मा अरनिको राजमार्गस्थित लार्चेमा गएको बाढीले मोटरबाटो र राजमार्गको पक्की पुल बगायो । त्यसको तीन सातापछि सोही ठाउँमा गएको पहिरोमा परी लिदीका ३९ जनाले ज्यान गुमाए ।
सिन्धुपाल्चोकमा २०७७ सालमा बाढी र पहिरोका कारण ७३ जनाको मृत्यु, ३९ बेपत्ता र १२७ घर क्षतिग्रस्त भएका थिए । पोहोर सालको बर्खायाममा गएको पहिरोका कारण असोज महीनासम्म सिन्धुपाल्चोकवासी ढुक्कले निदाउन पाएनन् । यो वर्ष मात्रै सिन्धुपाल्चोकका ११०० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयले तयार पारेको छ । प्रभावित क्षेत्रको रूपमा हेर्दा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तह जोखिम क्षेत्रभित्र पर्छन् ।
यति गम्भीर विषयमा पनि राज्यको नेतृत्व तहमा बस्नेहरू संवेदनशील देखिन्नन् । पीडित परिवारलाई पुनर्स्थापित गर्न झण्डै ९ महीनादेखि ताकेता गरिरहेको भए पनि अहिलेसम्म त्यसमा कुनै प्रगति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेल बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी पोखरेल जोखिमको समय नजिकिंदै गएको भए पनि प्राविधिक जनशक्ति र स्रोत अभावका कारण आफूहरू पूर्वतयारीमा लाग्न नसकेको स्वीकार्छन् । उनी भन्छन्, ‘हामीसँग प्राविधिक जनशक्ति र स्रोत–साधनको अभाव छ । हामीले लेखेर पठाउने हो । अहिलेसम्म ती जोखिम क्षेत्रमा रहेका बस्ती सार्ने विषयमा कुनै भौतिक प्रगति भएको छैन ।’
सम्भावित क्षति रोक्न राज्यका निकायहरूबीच पत्राचार गर्नेबाहेक कुनै प्रगति नभएको उनको भनाइबाट थाहा हुन्छ । यही पत्राचारमा अल्झिएको सरकारी ढिलासुस्तीले यो वर्ष पनि सयौंको ज्यान जोखिममा छ । एउटा प्राविधिक टोलीलाई बाह्रबिसे क्षेत्रमा लगेर राख्न पटक–पटक ताकेता गर्दा पनि प्राविधिक जनशक्ति जिल्लामा राख्न नसकिएको प्रजिअ पोखरेलको गुनासो छ । उनी भन्छन्, ‘प्राविधिक जनशक्ति सबै काठमाडौंमा हुन्छन्, पहिरो गएपछि आउनुभन्दा बाह्रबिसेमा एउटा टोली राख्न सके जोखिम न्यूनीकरणमा ठूलो सहयोग हुनेथियो ।’
यसअघि सिन्धुपाल्चोकका तत्काल सार्नुपर्ने बस्तीहरूको पहिचान गर्न बनेको समितिले जुगल, भोटेकोशी, हेलम्बु गाउँपालिका एवं बाह्रबिसे र मेलम्ची नगरपालिकाका गरी आठवटा बस्ती तत्काल स्थानान्तरण गर्न सुझाव दिएको थियो । तत्काल स्थानान्तरण गर्नुपर्ने बस्तीमध्ये लिदीलाई बाँसखर्कमा, सानो नाम्फालाई ठूलो नाम्फामा, वोलाई चामार्गामा, लार्चालाई गुम्बाडाँडामा, जम्बुलाई खागदलटारमा, थकनीलाई ओख्रेचौरमा, अमलेलाई तल्लो अमलेमा र हेलम्बुको बोल्देलाई बाहुनखर्कमा स्थानान्तरण गर्न सुझाव दिएको थियो ।
तर गत महीना मात्रै बजेट निकासा भएकाले यो आर्थिक वर्षमा उनीहरूलाई स्थानान्तरण गर्ने सम्भावना अत्यन्त कम छ ।
यो वर्ष अघिल्ला वर्षहरूमा भन्दा धेरै पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । जसका कारण अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष धेरै जोखिम रहेको जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठ बताउँछन् ।
तस्विर : सिन्धुपाल्चोकमा गत वर्ष गएको पहिरो
प्रतिक्रिया राख्नुहोस्