नेकपा लमही नगरको प्रथम पूर्ण बैठक सम्पन्न

हामीले विद्रोह संसदीय व्यवस्था विरुद्ध गरेका हौँ, ध्वस्त पाछौँ : प्रदीप

नेकपा लमही नगरको प्रथम पूर्ण बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत लमही नगरको  प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा दाङ जिल्लाको १० औं  पूर्ण बैठकपछि नगरको  प्रथम पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै दाङ जिल्ला सेक्रेटरी तथा बैठकका प्रमुख अतिथि प्रदीपले पार्टीले अघि सारेको नयाँ कार्यनितिक योजना जनमतसंग्रह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको  बारेमा स्पष्ट पारेका थिए । उनले संसदीय व्यवस्था चरम संकटमा पुगेको बताउँदै सबै देशभक्त, क्रान्तिकारी, कम्युनिस्ट, सच्चा लोकतन्त्रवादी शक्तिहरूबीचको सहकार्यको  आवश्यकता रहेको उद्घोष गरे । 

एक फरक प्रसङ्गमा सेक्रेटरी प्रदीपले संसदीय व्यवस्था स्विकार गरेर वार्तामा आएको भनेर भ्रम सिर्जना गर्न  प्रतिक्रियावादी तत्वहरु दिनरात लागिपरेको बताए । उनले भने, ‘हामिले विद्रोह संसदीय व्यवस्था विरुद्ध गरेका हौँ र यो व्यवस्थालाई ध्वस्त गरी छाड्छौँ । 

नेकपा लमही नगर  इन्चार्ज  जनकको सञ्चालन तथा  अध्यक्षतामा भएको बैठकमा गढवा–राजपुर गाउपालिका इन्चार्ज सुरज, नेकपा दाङ जिल्ला सल्लाहकार समितिका सदस्य मधुसूदन गिरीको आतिथ्य रहेको थियो । नगरको प्रथम पूर्ण बैठकले २१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।