दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको शान्तिनगर गाउँपालिका–३, अधेरे निवासी अल्पसंख्यक, अति विपन्न दलबहादुर कुमाल परिवारको घर निर्माण कार्य सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच घर निर्माण कार्यको शिलान्यास गरिएको हो ।
घर निर्माण शिलान्यास गर्दै कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदीपले पार्टी श्रम र समय सँग एकाकार बनेर अगाडी बढेको बताए । जनप्रतिनिधिले आफ्नो अनुकुलतामा विकास बजेट छुट्याउने र उनीहरुबाट कमिसन खाने, भ्रष्टाचार गर्ने गरेको उनको भनाई थियो ।
घर निर्माणको बिषयमा उनले भने, ‘अहिले हामी साना टहरा बनाउछौँ, भोलि हामी समृद्ध टहरा बनाउछौँ ।’ उनले विभिन्न उद्योगी व्यवसायीहरुको सहयोग, नेता–कार्यकर्ता, गाउँटोल, समाजको श्रमशक्तिबाट घर निर्माण सम्पन्न गरिने बताए । एक फरक प्रसङ्गमा उनले सरकारमा जाने, केपीसँग एकता गर्ने, संसदीय चुनावमा भाग लिने जस्ता भ्रम छर्नेहरुसँग सतर्क रहन र कडा प्रतिवाद गर्न आग्रह गरे । उनले भने, संसदीय व्यवस्थालाई धुलोपिठो पारेर त्यसको चिहानमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना बाहेक हामीसँग अर्को कुनै सोच छैन ।’
कार्यक्रममा मन्तव्य राख्दै युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य विरेन्द्रले संगठनका नेता–कार्यकर्ताहरु निरन्तर जनताको सारथी बनेर जनश्रममा जोडिएको बताए । उनले भने, ‘हामिले सुनेका छौँ, स्थानीय युवा र बासिन्दाले पटकपटक वडा कार्यालय र स्थानीय नेताहरुलाई घर बनाइदिन अनुरोध गर्दा पनि बेवास्ता भएको छ । त्यसैले हाम्रो पार्टी संगठनले पहलकदमी लिएको छ ।’ स्थानिय युवा हरिसचन्द्र राणाको नेतृत्वमा स्थानीय युवाहरु श्रममा जोडिएको विरेन्द्रले बताए ।
घर निर्माण अभियानमा नेकपा निकट गणतान्त्रिक खेलकुद महासंघ दाङ जिल्ला अध्यक्ष विवेकले रु. ५,००० हजार, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी व्यवसायी तथा समाजसेवी डिल्ली बहादुर केसिले रु. ८,००० नगद सहयोग प्रदान गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य मनोजले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता पार्टीका शान्तिनगर–दंगिशरण गाउँपालिका इन्चार्ज निर्मलले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्