बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) ले मानवता विरोधी जातीय विभेदका विरुद्ध देशव्यापी रुपमा सङ्घर्ष गर्न र प्रदर्शनमा उत्रन सङ्गठनका सबै नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।
सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंमा कोठा खोज्ने क्रममा दलित समुदायकी युवती रुपा सुनारमाथि गरिएको सामाजिक विभेद झल्कने दुर्व्यवहारको घटना गम्भीर सामाजिक अपराध भएको भन्दै यसको विरुद्ध देशव्यापी रुपमा सङ्घर्ष गर्न र प्रदर्शनमा उत्रन अपिल गरेका छन् ।
उनले विज्ञप्तिमा जातीय विभेदमा परेकी युवतीले प्रहरीमा जाहेरी दिएपछि दोषीलाई कारबाही गर्नुको साटो प्रहरी अनुसन्धानमा रहेकी घरबेटी सरस्वती प्रधानलाई सत्ताका बहालवाला शिक्षामन्त्रीको प्रत्यक्ष निर्देशनमा छोड्नु खेदजनक भएको बताएका छन् । क्रान्तिकारीका अध्यक्ष ढकालले सत्ता र शक्तिको दुरुपयोग गर्ने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामासमेत मागेका छन् ।
यसै सन्दर्भमा अखिल (क्रान्तिकारी) उपत्यका ब्युरोले जातीय विभेदका विरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम गर्ने भएको छ । क्रान्तिकारीले आज अर्थात् शनिबार काठमाडौंको माइतीघर मण्डलामा जातीय विभेदका विरुद्ध प्रर्दशन गर्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्