काठमाडौँ । नेकपा निकट अखिल (क्रान्तिकारी) उपत्यका ब्युरोले काठमाडौँको माइतीघर मण्डलामा जातीय विभेद विरुद्ध विरोध प्रर्दशन गरेको छ । रुपा सुनारलाई जातीय विभेद गर्ने घरबेटीलाई कारबाही गर्नुको साटो शिक्षामन्त्रीले प्रहरी चौकीबाट छुटाएको भन्दै (क्रान्तिकारी)ले प्रर्दशन गरेको हो ।
प्रदर्शनकारीहरूले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ विरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘जातिय अहंकारी शिक्षा मन्त्री राजीनामा दे, सबैखाले जातिय विभेद विरुद्व संघर्ष गरौँ’ लगायतका नाराहरु लगाउँदै रुपा सुनारलाई न्याय दिलाउन माग गरेका थिए ।
नाराजुलसपछि भएको कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले राज्यले नै जातीय विभेद गरेको बताए । दलाल संसदीय व्यवस्थामा यस्ता सबै खालका विभेदहरु हुने भन्दै उनले यसको अन्त्यका लागि देशव्यापी रुपमा कडा संघर्ष गर्नुपर्ने र संसदीय व्यवस्थालाई ध्वस्त पारेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । ढकालले शिक्षामन्त्रीले घरबेटीलाई कारबाही गर्नुको साटो प्रसय दिने काम गलत भएको भन्दै उनको राजीनामा समेत मागेका थिए ।
संचारकर्मी रुपा सुनारलाई जातीय विभेद गरेपछि बबरमहलकी घरबेटी सरस्वती प्रधान पक्राउ परेकी थिइन् । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले प्रधानलाई प्रहरी चौकीबाट छुटाएर आफ्नै गाडीमा राखि घर पुर्याइदिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्