साम्राज्यवादसित अपराजित क्युबा


ब्राडले ब्लानकेनसीप

गत जून २३ मा क्युवामाथि संरा अमेरिकी आर्थिक नाकाबन्दी अन्त्य गर्ने विषयमा संयुक्त राष्ट्र सङ्घको महासभामा मतदान भयो । यो विषयमा महासभामा मतदान भएको यो २९ औँ पटक हो । संरा अमेरिका र इजरायल दुई वटा देशले मात्र नाकाबन्दी कायम राख्ने पक्षमा मतदान गरे । कोलोम्बिया, युक्रेन र ब्राजिल तीन देश अनुपस्थित भए भने बाँकी १८४ देशले भने नाकाबन्दी हटाउने पक्षमा मतदान गरे ।

संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले अहिले ‘अमेरिका फर्केको छ’ भनी संसारलाई देखाउन खोजिरहेका छन् । संरा अमेरिका संसारका बहुराष्ट्रिय संस्थाहरूको फेरि नेता बन्नुपर्ने उनको मनसाय हो । तर, क्युवाविरूद्धको नाकाबन्दीको विषयमा भएको मतदानले अन्तर्राष्ट्रिय समुदायमा संरा अमेरिका खासमा एक्लो भएको देखाएको छ ।

सन् २०२० एक वर्षबाहेक सन् १९९२ देखि हरेक वर्ष राष्ट्र सङ्घको महासभामा क्युवाविरूद्ध संरा अमेरिकाले जबरजस्ती अवैध नाकाबन्दी लगाएको विषयमा भत्र्सना हुँदै आएको छ । सन् २०२० मा भने कोभिड–१९ महामारीको लागि लगाइएको रोकको कारण मतदान भएको थिएन । क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिग्युज पेरिल्लाले महासभाको हलमा मतदानको क्रममा सटिकरूपमा नाकाबन्दीलाई ‘क्युवाली जनताको मानवअधिकारको व्यापक, अपमानपूर्ण र अस्वीकार्य उल्लङ्घन’ भनी व्याख्या गरे ।

उनले नाकाबन्दी ‘महामारीको कारण आर्थिक सङ्कट झेलिरहेको सानो देशविरूद्ध गैरकानुनी आर्थिक युद्ध’ भएको बताए । उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थोपरेका नयाँ नाकाबन्दीको कारण क्यारिबियाली देश क्युवालाई सफल भइसकेको खोप पनि वितरण गर्न कठिन भइरहेको बताए । क्युवाले बनाएका कोभिड–१९ को खोप प्रभावकारी भएको यसै साता प्रमाणित भएको छ ।

अर्कोतिर संरा अमेरिकी मिसनका राजनीतिक संयोजक रोडनी हन्टरले क्युवामाथि वाशिङ्टनले चालेका कदम प्रजातन्त्र, मानवअधिकारको सम्मान र क्युवाली जनतालाई स्वतन्त्रता दिलाउने बताएका छन् ।

उनको शब्दमा ‘नाकाबन्दीबीच संरा अमेरिकाले क्युवाली जनता र क्युवाको एउटा प्रमुख व्यापारिक साझेदारलाई मानवीय सहायता सामग्री उल्लेखनीय रूपमा आपूर्ति गरेको’ छ । “क्युवामा प्रजातन्त्र र मानवअधिकार कायम गर्नु नै यो नीतिगत प्रयासको मूल आशय हो”, उनले भने ।

हन्टरको यो विश्लेषण गलत छ । किनभने संरा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा सरकारका अधिकारीहरूले क्युवामाथिको नाकाबन्दी सही नभएको स्विकारिसकेको छ । ती अधिकारीहरूमध्ये कतिपय त अहिलेको सरकारमा पनि छन् ।

क्युवाले जैविक प्रविधिमा धेरै प्रगति गरेको छ । क्युवाली वैज्ञानिकहरूले बनाएका दुई वटा कोभिड–१९ को खोप अन्तिम चरणको परीक्षणमा छन् । महामारीलाई क्युवाले पराजित गर्न सक्ने क्षमताको योभन्दा ठुलो आधार के हुनसक्छ ? आवश्यकता नै आविष्कारको जननी हो । संरा अमेरिकाले औषधि र चिकित्सकीय सामग्रीजस्ता प्रविधिबाट क्युवालाई वञ्चित बनाउँदै आएको छ ।

तर, संरा अमेरिकाले यति लामो अवधिमा पनि क्युवालाई आफ्नो प्रभावमा ल्याउन सकेन । नाकाबन्दी, निषेध, बन्देज र अन्य आतङ्कपूर्ण गतिविधिको पनि क्युवाले सफलतापूर्वक सामना गर्दै आएको छ । ती सबै कदम निःसन्देह अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र क्युवाली जनताको मानवअधिकारको हनन हो । अन्तर्राष्ट्रिय समुदाय पनि यो कुरामा प्रस्टतः सहमत छन् ।

संरा अमेरिकाका नाकाबन्दीसम्बन्धी विभिन्न गोप्य सरकारी दस्तावेजले आशङ्काको छायाँभन्दा पर क्युवाली अर्थतन्त्रलाई जबरजस्ती सकसमा पार्ने नाकाबन्दीको लक्ष्य भएको देखाएको छ । त्यस्तो कृत्रिम आर्थिक सङ्कटको कारण जनताका आवश्यकता पूरा नहुने र त्यसले जनअसन्तोष बढाउने जसले क्रान्तिकारी क्युवाली सरकारविरूद्ध प्रतिक्रान्ति हुने संरा अमेरिकाको अपेक्षा हो । तर, क्युवाली जनताले भने अनगिन्ती पटक संरा अमेरिकी साम्राज्यवादको कडा प्रतिरोध गर्दै आएका छन् । उनीहरूको लागि अमेरिकासामु झुक्नुभन्दा क्युवाको स्वाधीनता धेरै प्यारो हो ।

त्यही कारण संरा अमेरिका वा स्पेनको तखतमा बस्दा क्युवाली जनताको जीवनस्तरभन्दा अहिले उनीहरू स्वतन्त्र र खुशी छन् । संसारका अन्य अधिकांश देशमा जस्तै वाशिङ्टनले क्युवाको स्वाधीनता पनि स्वीकार्न सक्नुपर्छ । अब निर्मम शीतयुद्धकालीन चिन्तन त्याग्नुपर्छ । त्यो सोचाइले त अमेरिकाले सहायता गरेको दाबी गरेका जनताकै भावनामाथि मात्र चोट पुग्नेछ ।

(लेखक प्रागमा बस्ने अमेरिकी पत्रकार र राजनीतिक विश्लेषक हुनुहुन्छ ।) 
स्रोतः सीजीटीएन 
नेपाली अनुवादः सुशिला