चिनियाँ कम्युनिस्ट पार्टीद्धारा शतबार्षिकीको भव्य तयारी

बिहीवार अर्थात् जुलाई १ मा शतवार्षिकी समारोह

चिनियाँ कम्युनिस्ट पार्टीद्धारा शतबार्षिकीको भव्य तयारी

एजेन्सी/ चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको भव्य समारोह मनाउने तयारी आरम्भ गरेका छन् । देशले कोभिडलाई हराएको उपलब्धिलाई चीनले निकै जोडतोडका साथ उठाउन खोजिरहेको छ । सर्वसाधारणलाई प्रवेश नदिइएको तथा कडा सुरक्षा व्यवस्था मिलाइएको स्थानमा तयारी समारोह गरिएको हो । त्यसको प्रत्यक्ष प्रसारण समेत गरिएको छ । 

बिहीवार अर्थात् जुलाई १ मा शतवार्षिकी समारोह परेको छ । कम्युनिस्ट पार्टीले युद्धबाट जर्जर बनेको मुलुकलाई विश्वको महाशक्ति बनाएको हो । 

तयारी समारोहमा कठोर अनुशासनसहितको नृत्य प्रदर्शन गरिएको छ । कम्युनिस्ट इतिहासलाई नृत्यमार्फत देखाइएको हो । माओदेखि सीसम्मका महत्त्वपूर्ण नेताहरूलाई ठूलो स्क्रीनमा देखाइएको छ । अनि १०० वटा ट्रम्पेट तथा अन्तरिक्षमा रहेका चिनियाँ अन्तरिक्षयात्रीको शुभकामना सन्देश पनि प्रसारण गरिएको थियो । 

तर चीनका समस्याग्रस्त समय जस्तै सुक्खा र भोकमरी, सांस्कृतिक क्रान्तिका बेला मच्चाइएका विध्वंस तथा तियानानमेन स्क्वेयर घटनाको उल्लेखै गरिएको छैन । 

प्रस्तुति दिनेहरूले हावामा मुड्की हान्ने, नाच्ने र पार्टीका कामको नाटकीय व्याख्यान गर्ने काम गरे । सन् १९२१ मा शांघाईको एक घरमा पार्टी गठन भएदेखि माओको लङ मार्चसम्मका घटनाक्रम त्यसबेलामा देखाइएको थियो । 

चीनले कोभिड १९ लाई परास्त गरेको विषयलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो । प्रस्तुति दिनेहरूले पीपीई लगाएका थिए र सैनिकहरूले मास्क लगाएका थिए ।