बुटवल । नेकपा एमालेमा रहेका पूर्व माओवादी केन्द्रका नेताहरूले नेकपा माओवादी केन्द्र खारेजीको माग राख्दै रिट हाल्ने तयारी गरेका छन्। एमालेमा िवलय भएका पूर्व माओवादी नेताहरु रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतले रिट दिने तयारी गरेका हुन्।
माओवादी केन्द्रको दल दर्ता खारेजीको लागि रिट हाल्ने तयारी भएको एक नेताले बताए। 'हामी ५ भाइले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग राख्दै रिट दिने तयारी गरेका छौं। माओवादी केन्द्र वैधानिक छैन। ५ वर्षमा महाधिवेशन हुनुपर्ने हो तर हुन सकेको छैन,' ती नेताले भने, 'अर्को कुरा माओवादी केन्द्रको कमिटी पनि अवैधानिक छ। हामीले भोलि रिट हाल्ने तयारी गरेका छौं।'
आफूहरूले कानुन व्यवसायीसँग छलफल गरिरहेको ती नेताले बताए। सर्वोच्च अदालतमा रिट हाल्ने या निर्वाचन आयोगमा हाल्ने भन्ने अझै टुंगो नलागेको समेत ती नेताको भनाई छ।
माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा भएको थियो। त्यसयता महाधिवेशन हुन सकेको छैन। २०७५ जेठ ३ गते एमाले र माओवादी एकता भएको थियो। एमाले र माओवादी 'एकता' भएर गठन भएको नेकपा (नेकपा)लाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। नेकपा(नेकपा)को एकता खारेज भएपछि थापा,भट्ट लगायतका नेताहरुले एमाले रोजेका थिए।
प्रतिक्रिया राख्नुहोस्