नेकपा कञ्चनपुरका जबस मोर्चाद्वारा संयुक्त विरोध प्रदर्शन

गणेश एसके । कञ्चनपुर । नेकपा कञ्चनपुरका जनवर्गीय सङ्गठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा महेन्द्रनगरमा बिहिबार संयुक्त विरोध प्रदर्शन गरेको छ । 

कार्यक्रममा अखिल (क्रान्तिकारी) का नेता वीरेन्द्र शाहले उक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वर्तमान सरकार जनताको जनहितको विरुद्धमा र दलालको इसारामा नाचिरहेको बताए । उनले सुजिता भण्डारीको रहस्यमय तरिकाले भएको हत्याको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य यथाशिघ्र घटाउन सरकारलाई अपिल गरे ।

शाहले विपदको बेला जनताका जनजीविका, जनतन्त्र, जनसरोकारका विषयमा र एउटा सुन्दर समाज निर्माणको लागि सदैव  निर्मम सङ्घर्ष गर्ने बताए । उनले सरकार सामाजिक सुरक्षा, अपराध, चोरी, हत्या, हिंसा, बलत्कार र जनताको आत्मसुरक्षा दिनका निम्ति सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएको र यस्ता सबै खाले विभेद अन्त्य गर्न एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न सबै एकजुट हुन आग्रह गरे । यी तमाम समस्याको सरकारले सम्बोधन नगरे थप कडा सङ्घर्ष गर्ने उनले चेतावनी दिए ।

नेकपा निकट जवस मोर्चाले सरकारले एकै महिनामा तीन तीन पटक आम श्रमजीवी जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा बिहिबार देशव्यापी विरोध प्रदर्शन गरेको छ ।