गणेश एसके । कञ्चनपुर । नेकपा निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले महेन्द्रनगरमा शैक्षिक विकृतिका विरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षाको निजीकरण र चरम व्यापारीकरण, त्रिविले बढाएको शुल्क, अनलाइन शिक्षामा व्यापार लगायत सबै शैक्षिक विकृतिका विरुद्ध क्रान्तिकारीले उक्त विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का सेती महाकाली ब्युरो संयोजकले सरकारले देशमा लागू गरेको द्वेत शिक्षा नितिलाई तत्काल हटाउनुपर्ने, शिक्षा सबैको सहज पहुँचमा हुनुपर्ने, धनी गरिब छुट्ट्याउने वर्ग विभेदकारी शिक्षा तत्काल खारेज गर्नु पर्ने माग गरे । उनले सरकारी स्कुलले नीतिगत रुपमा नै लिने गरेको शुल्क आम जनताको हित विपरित रहेको र निजि शैक्षिक संस्थाले गरेको मनपरी शुल्क वृद्धि तत्काल फिर्ता गर्नुपर्ने, स्थगित भएका सबै परीक्षाहरु स्वास्थ मापदण्ड अपनाई सुचारु गर्नुपर्ने, शिक्षक र विद्यार्थीलाई कोरोनाको खोपको तत्काल व्यवस्था गरी शैक्षिक सत्र सुचारु गर्नुपर्ने बताए ।
सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने र महिला हिंसाको घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर दोषी उपर कडा कारबाही गर्नु पर्ने बताए ।
प्रतिक्रिया राख्नुहोस्