बुटवल । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न पार्टीको सचिवालयको बैठकले पछिलो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसँग संवाद र छलफललाई तिब्रता दिने निर्णय गरेको छ ।
बैठकमा अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति वर्तमान सरकारले पनि स्विकार्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ । बैठकले कोभिड विरुद्धको खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउनुपर्ने, कोभिड संक्रमितको उपचार निःशुल्क र सर्वसुलभ गराउनुपर्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई तत्काल जोखिमभत्ता उपलब्ध गराउनु पर्ने विषय सरकारसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले जनपरिचालन र जनजागरण अभियान संचालन गर्ने, जनसरोकार जनजिविकाको विषयमा जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ । साथै सो बैठकले इन्धनमा भएको मुल्यवृद्धि, महंगी, भ्रष्टाचार, शैक्षिक–स्वास्थ्य समस्यालगायत सुकुमबासीमाथि भएका ज्यादती, जातीयविभेद र छुवाछुत, महिलाहिंसा र बलात्कार लगायतका विषयलाई लिएर संघर्ष गर्ने निर्णय गरेको छ ।
बैठकले नेपालको नयाँ नक्सा सम्पूर्ण क्षेत्रमा प्रयोग गर्ने गराउने निर्णय गरेको छ । साथै बैठकले पार्टीको मुखपत्रलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गर्ने निर्णय समेत गरेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्