नेपालको बन्द प्रशिक्षण स्थगित

कोरोनाको कारण गुम्यो एसियन च्याम्पियनसिप खेल्ने अवसर

नेपालको बन्द प्रशिक्षण स्थगित

बुटवल । च्याम्पियनसिप खेल्न नपाउने भएपछि नेपालको बन्द प्रशिक्षण स्थगित भएको छ । एनभीएले शुक्रबारै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको विज्ञप्तीमा जनाएको छ ।

यसपटक एनभिएले खेलाडीहरुलाई राम्रो होटलमा राखेर बन्द प्रशिक्षण गराएको थियो । यस्तै टिममा दुई प्रशिक्षक दुई जना ट्रेनर राखेको थियो । साथै फिजियो समेत राखेको थियो ।

च्याम्पियनसिपका लागि नेपालले एक महिनाअघि देखि बन्द प्रशिक्षण सुरु गरेको थियो । सुरुमा एनभीएले बन्द प्रशिक्षणमा ३० खेलाडी बोलाएकोमा नेपाल पुलिसले ३ खेलाडी नपठाएपछि २७ खेलाडीले प्रशिक्षण थालेका थिए । त्यसपछि एनभिएले बनाएको खेलाडी छनोट समितिले १८ खेलाडी छनोट गरेको थियो । अन्तिम चरणमा १४ खेलाडी छनोट गर्ने तयारी थियो । तर नेपालले अब च्याम्पियनसिप खेल्न नपाउने भएपछि एनभीएले प्रशिक्षण पनि रोकेर खेलाडीहरुलाई रिलिज गर्ने जनाएको छ ।

२०७६ मा नेपालको महिला टिमले दुई ठूला उपलब्धि हासिल गरेपछि संघले एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेको थियो । नेपालले २०७६ कात्तिकमा बंगलादेशमा भएको पहिलो संस्करणको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो भने त्यही वर्ष मंसिरमा घरेलु कोर्टमा भएको १३औं सागमा रजत पदक जितेको थियो । दुवै नेपालको ऐतिहासिक उपलब्धि थियो ।