आर्थिक अवस्था कमजोर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अनिल नेपाली । अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको आयोजना र मुख्यमन्त्री ग्रामिण विकास परियोजना तथा रोजगार कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. ९ साविक अर्घा–१, अर्घा भगवती आधारभूत विद्यालयमा अध्ययन गर्ने दलित बस्तीमा रहेका दलित तथा विपन्न परिवारहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ  । 

मुख्यमन्त्री ग्रामीण विकास परियोजना अन्तर्गत विद्यालयमा  विद्यार्थीलाई एक थान झोला, एक दर्जन कापी, एक सेट पोसाक, एक प्याकेट डटपेन र रु. ४०० का दरले छात्रवृत्ति समेत वितरण गरिएको उक्त कार्यक्रमबाट करिब ८९ जना छात्र छात्रा विद्यार्थीहरु लाभान्वित भएको विद्यालयका  प्र.अ हरि बहादुर गन्धर्वले जानकारी दिए । शैक्षिक सामाग्री वितरणले अध्ययनरत विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने र शैक्षिक गुणस्तरमा सुधार आउने नगरप्रमुख कमल प्रसाद भुसालको भनाई रहेको छ । उपप्रमुख ठाकुर कुमार विकले दलित समुदायका लागि राज्यले अथाह लगानि लगाएको र सोहि किसिमले अभिभावकहरुले जिम्मेवारी बहन गर्ने हो भने अब दलित समुदाय माथि उठ्न धेरै समय नलाग्ने जानकारी गराए । 

कार्यक्रममा वडा अध्यक्ष देवी बहादुर रायमाझी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम्जी परियार, कार्यक्रम कोर्डिनेटर मरत न्यौपाने, पत्रकार प्रेमनारायण आचार्य, बसन्त कुमार विक र स्थानिय समाजसेवी, अभिभावक लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम हरि बहादुर गन्धर्वको संचालनमा सम्पन्न भएको बताइएको छ ।