संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद : बास्तोला 

बुटवल । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धमेन्द्र बाँस्तोला ‘कञ्चन’ ले अहिलेको संसदीय व्यवस्था दलाल पुँजीपतिको हातमा रहेकाले त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताएका छन् । 

कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले भने, ‘देशमा आन्दोलन, परिवर्तन भयो, तर आधारभूत परिवर्तन भएन । नेपाली जनताको हातमा शासन, राज्य प्रणाली पुगेन, किनभने अहिलेको संसदीय व्यवस्था दलाल पुँजीपतिको हातमा छ ।’ बास्तोलाले भने, ‘त्यसैले संसदीय व्यवस्थाको विकल्प खोजेर अगाडि बढ्यो भने मात्र ठीक ठाउँमा पुग्न सकिन्छ ।’

उनले अहिलेको व्यवस्थामा जसले पैसाको बढी चलखेल ग¥यो उही नेता प्रधानमन्त्री बन्ने अवस्था रहेको जिकिर गर्दै संसदीय विकृत खेल र आपसी आरोप–प्रत्यारोपले जनतामा राजनीतिक पार्टी र नेताहरूमाथि नै अविश्वासको अवस्था रहेको बताए । अहिलेको भ्रष्ट व्यवस्था बदलेर राज्य प्रणाली बलियो नबनाएसम्म देश भ्रष्टाचारमुक्त हुन नसक्ने उनको भनाई थियो ।