लैङ्गिक हिंसाले मानसिक समस्याको जोखिम

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’

लैङ्गिक हिंसाले मानसिक समस्याको जोखिम

 

गोपाल ढकाल, मनोविद्

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष विश्वभरि नै यो अभियान संचालन हुँदै आएको छ । 
नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ ।

यस बर्ष कोरोनाको कहर तथा लकडाउनका बिचमा पनि  लैङ्गिक तथा घरेलु हिंसाका घटनाहरु बढेर गएको समाचारहरु आइरहेका छन् । महिलालाई महिला भएकै कारणले तथा पुरूषलाई पुरूष भएकै कारणले अथवा लिङ्गका आधारमा महिला वा पुरूषमाथि हुने कुनै पनि प्रकारको विभेद, दुव्र्यवहार वा  हिंसालाई लैंगिक हिंसा भनिन्छ । लैंगिक हिंसाले मानव अधिकारको उपहार गरिरहेको हुन्छ । विशेष गरि पितृसतात्मक समाजमा पुरूषभन्दा महिलाहरू नै बढी लैंगिक हिंसाको शिकार भइरहेका हुन्छन् । धेरैजस्तो अवस्थामा महिलामाथी पुरूषले हिंसात्मक व्यवहार गरिरहेको हुन्छ भने कतिपय अवस्थामा महिलामाथी महिलाले नै हिंसा गरिरहेका उदाहरणहरू पनि भेटिन्छन् ।

विभिन्न ठाउँ तथा परिस्थितिमा महिलाहरू माथि हिंसा भइरहेको हुन्छ । आफूले काम गर्ने ठाउँ एवं कार्यालयहरूमा आफ्नै सहकर्मी एवं हाकिमबाट हुने हिंसा, बजार, सडक, यातायातका साधन, विद्यालय लगायत आफ्नै घर परिवारभित्र पनि श्रीमान, सासु, ससुरा, नन्द, भाउजु, दाजुभाईबाट महिलाहरू लैंगिक हिंसाको सिकार हुने गरेका छन् । महिला र पुरूषबीचको लैंगिक भेदभाव र असमानता घटाउने, महिलाहरूमाथि हुने सबै प्रकारका लैंगिक हिंसाहरूले अन्त्य गर्ने जस्ता विषयमा चर्को बहस र छलफल हुने गरेता पनि व्यवहारमा यी कुरा लागू हुन सकिरहेका छैनन् ।

महिला हिंसाका कारणहरु
पितृसतात्मक सोच र मानसिकताले लैङ्गिक हिंसा बढाउन ठूलो प्रभाव पारिरहेको हुन्छ । त्यसै गरि परम्परा,  धर्म,  संस्कृति र रितिरिवाजका आडमा समेत महिलामाथि हिंसा भइरहेको हामी पाउँछौ ।

जाँड रक्सी तथा लागु पदार्थको सेवनले समेत नेपाली समाजमा महिला माथिको हिंसा बढाएको देखिन्छ । महिला हिंसाको अन्य कारणहरुमा शिक्षा, चेतनाको कमी, महिलाहरु आफैमा सवल र सक्षम हुन नसक्नु, सधै अरुमाथी आत्म निर्भर भइरहनु पनि हुन् । कतिपय अवस्थामा मानसिक रोगका कारणले पनि घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरु हुन सक्छन् । 
घरपरिवार तथा  समाजमा हुने गरेका लैङ्गिक हिंसा वा शोषणहरूका घटनाहरु  बाहिर नल्याई भित्रभित्रै सुल्झाउने, ढाकछोप गर्ने वा उल्टै पीडितलाई दोषी देखाउने  गरेको घटनाहरु समेत पाईन्छ । यस्तो कार्यले  महिलाहरू भित्रभित्रै मानसिक रूपमा विक्षिप्त हुने, सधै अन्यायमा परेको महसुस गर्ने, आत्मविश्वास गुम्ने, नैराश्यताको सिकार भई आत्महत्याको प्रयास वा आत्महत्या  समेत गर्ने गरेका घटनाहरु छन्  ।

महिलामाथि हुने हिंसाका स्वरूपहरू
महिला माथी लैङ्गिक हिंसाका विभिन्न रुपहरु रहेका छन् । बोक्सीको आरोप, यौन दुर्व्यवहार तथा छेडछाड,  दाईजो प्रथा, जबर्जस्ती गर्भपतन, छाउ प्रथा, दाईजो प्रथा, आर्थिक अधिकारबाट बन्चित गरिनु, विभिन्न किसिमका लान्छना लगाउनु, काम तथा तलबमा विभेद गर्नु । महिलाहरु माथी हुने लैङ्गिक हिंसालाइ यसरी बर्गिकरण गर्न पनि सकिन्छ ।

शारीरिक हिंसा
कुटपिट गर्ने, एसिड छ्याप्ने, घोक्र्याउने, लछारपछार गर्ने कामको बोझ थोपरेर दुःख दिने जस्ता कार्यहरु महिलाहरूमाथि हुने शारीरिक हिंसाका रुप हुन् ।

यौन हिंसा
जबरजस्ती यौन व्यवसायमा लगाउने,  यौन कार्यमा लाउन किनबेच गर्ने, बलात्कार वा अन्य यौन दुव्यवहार महिलाहरूमाथि हुने यौन हिंसाका रुप हुन् ।

मानसिक हिंसाः
अपशब्दको प्रयोग गर्नु, लान्छना लगाउनु, छोरी जन्माई भनेर हेला गर्नु, अर्को विवाह गर्न धम्की दिनु, बाँझो विधवाजस्ता शब्दको प्रयोग गर्नु, अरूका अगाडि होच्याउनु, इच्छा र आकाङ्क्षा दबाउनु, दुव्र्यवहार गर्नु, चिठ्ठी टेलिफोन, इमेल, इन्टरनेटबाट धम्की दिनु, ब्लाकमेलिङ्ग गर्नु, अश्लिल तस्वीर,  भिडियो सार्वजनिक गर्नु मानसिक हिंसाका उदाहरण हुन् ।

परम्परागत हिंसा
बालबिवाह, बहुविवाह, दाइजो, बोक्सीको आरोप, बादी प्रथा, छाउपडी, देउकी, झुमा आदी जस्ता सामाजिक परम्परा तथा विश्वासले समेत महिलाहरू माथि हिंसा भइरहेको छ ।

आर्थिक हिंसा
महिलालाई आर्थिक आय आर्जनको काम गर्न रोक लगाउनु, घर धन्दामा नै सीमित गर्नु, आर्थिक रूपमा आश्रित पार्नु, सम्पत्तिको हकमा अबरोध पुर्याउनु, समान काममा असमान ज्याला, श्रम शोषण जस्ता कुराले महिलाहरू आर्थिक रूपमा हिंसाको शिकार भइरहेका हुन्छन् ।

सामाजिक तथा राजनीतिक हिंसा
महिलाहरूलाई राजनीति वा समाजसेवामा लाग्नबाट बञ्चित गराउनु, समाजमा कार्य गर्ने अवसरहरू नदिनु, राजनीतिमा वा सामाजिक कार्यमा लागेका महिलाहरूको चरित्रहत्या गर्नु, उच्च पदमा पुग्न नदिने गरेर छेकबार लगाउनु गरेर समेत महिलाहरू माथि हिंसा भइरहेका छन् । लैंगिक हिंसाको परिणामका रूपमा महिलाहरूमा विभिन्न किसिमको मनोसामाजिक समस्याहरू देखापर्ने गरेका छन् ।

लैङ्गिक हिंसाले मनोसामाजिक समस्याको जोखिम
लैङ्गिक हिंसाले मानसिक एवं मनोसामाजिक समस्याको जोखिम बढाउने गरेको विश्वभरी विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा पनि  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सन् २०१२ मा देशका ६ जिल्लाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार नौ सय नमुना उत्तरदाता महिलाहरुमध्ये ४ सय ३२ जनाले लैंगिक हिंसाको अनुभव गरेको उल्लेख गरेकाछन् । लैंगिक हिंसा व्यहोर्ने ४ सय ३२ जना मध्ये ६९ प्रतिशतलाई मानसिक समस्या भएको र २९ प्रतिशतमा आत्महत्या गर्ने सोंच आएको साथै ७ प्रतिशतले आत्महत्याको प्रयास गरेको पाइएको छ ।
लैङ्गिक हिंसामा परेका व्यक्तिहरुमा विभिन्न किसिमका मानसिक तथा मनोसामाजिक समस्याका लक्षणहरु देखिने गर्दछन् ।

मन उदास हुने, अनावश्यक डर लाग्ने, चाडो रिस उठ्ने, ज्यादै चिन्ता गर्ने, द्विविधामा पर्ने, निर्णय गर्न नसक्ने, साथी भाईहरूसँग घुलमिल, कुराकानी गर्न मन नलाग्ने,कसैलाई विश्वास गर्न नसक्ने, विभिन्न शारिरीक समस्याहरू देखापर्ने, कमजोर भएको महसुस गर्ने, केही काम गर्न मन नलाग्ने, दिक्दार लाग्ने, एक्लो महसुस गर्ने, आफुलाई नै दोषी ठान्ने, आत्महत्याको सोच आइरहने, निन्द्रा नलाग्ने, रून मन लाग्ने, के होला, कसो होला भनेर भविष्य तथा घर परिवारको चिन्ता गरिरहने जस्ता लक्षणहरु देखिन सक्छन् । लैंगिक हिंसाका कारण देखा परेका समस्याको समाधानको निम्ति, औषधि उपचार, मनोविमर्श एवं भावनात्मक सहयोगका साथै कानुनी तथा अन्य आवश्यक सहयोग प्रदान गर्नुपर्छ ।

(लेखक मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन्)