शान्ति सेनामा प्रतिवर्ष १० हजार सेना पठाउने आन्तरिक तयारी 

सम्झौता कार्यान्वयन भए शान्ति मिसनमा योगदान गर्ने मुलुकको पहिलो सूचीमा नेपाल पर्ने 

शान्ति सेनामा प्रतिवर्ष १० हजार सेना पठाउने आन्तरिक तयारी 

सन्तोषबल्लभ पौडेल, प्रवक्ता, नेपाली सेना : अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सुरक्षाकर्मी खटिएका छन् । मिसनमा योगदान गर्ने मुलुकमध्ये अहिले नेपाल चौथो स्थानमा छ । अब यो संख्या १० हजारसम्म बढाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको छ । यसका लागि युएनसँग सम्झौतासमेत भइसकेको छ । यदि यो सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा योगदान गर्ने मुलुकमध्ये नेपालको स्थान पहिलो नम्बरमा आउँछ ।

नेपाली सेनाले संयुक्त राष्ट्रसंघअन्तर्गतको शान्ति स्थापनार्थ मिसनमा एक वर्षमा १० हजार सैनिक पठाउन सक्ने गरी आन्तरिक तयारी गरेको छ । यसका लागि सेनाले राष्ट्रसंघसँग सम्झौता गरिसकेको छ । सेनाका अनुसार सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा सेना खटाउने विश्वका विभिन्न मुलुकमध्ये नेपाल पहिलो नम्बरमा आउनेछ । अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सैनिक खटिँदै आएका छन् । 

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले शान्ति मिसनमा एकैपटक १० हजार सुरक्षाकर्मी खटाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको जानकारी दिए । ‘अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सुरक्षाकर्मी खटिएका छन् । मिसनमा योगदान गर्ने मुलुकमध्ये अहिले नेपाल चौथो स्थानमा छ । अब यो संख्या १० हजारसम्म बढाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको छ । यसका लागि युएनसँग सम्झौतासमेत भइसकेको छ । यदि यो सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा योगदान गर्ने मुलुकमध्ये नेपालको स्थान पहिलो नम्बरमा आउँछ,’ उनले भने ।

चार चरण पूरा गर्नुपर्ने

राष्ट्रसंघसँगको सम्झौताअनुसार नेपाली सेनाले चार चरण पूरा गर्नुपर्नेछ । जसअन्तर्गत असिस्टेन्ट एडभाइजरी भिजिट (एएभी), मेमोरेन्डम अफ अन्डरस्ट्याडिङ (एमओयू), ¥यापिड डेभलपमेन्ट लेभल (आरडिएल) लगायत पर्दछन् । सेनाले पहिलो चरणका लागि एक हजार पाँच सय ३० सैनिकलाई तयार गर्दै छ । तयार गरिएकामध्ये इन्फेन्ट्री बटालियन आठ सय ५०, फोर्स प्रोटेक्सन कम्पनी एक सय ६०, मिलिटरी पुलिस कम्पनी एक सय २०, क्विक रेस्पोन्स फोर्स कम्पनी दुई सय ५० र स्पेसल फोर्स कम्पनी १५० सैनिक छन् । 

जसमध्ये क्विक रेस्पोन्स फोर्स कम्पनीका दुई सय ५० सैनिकले लेभल फोर पास गरिसकेका छन् । उनीहरू अबको दुई महिनाभित्र शान्ति मिसनमा जानेछन् । त्यस्तै, इन्फेन्ट्री बटालियन, फोर्स प्रोटेक्सन कम्पनी र मिलिट्री प्रोटेक्सन कम्पनीका सैनिकले भने लेभल थ्री पास गरेका छन् । बाँकी सैनिकलाई पनि सोही तवरले तयार गर्दै लैजाने सेनाको योजना रहेको सैनिक प्रवक्ता सहायक रथी पौडेलले बताए । ‘सम्झौताअनुसार हामीले अहिले चार युनिटका एक हजार पाँच सय ३० सैनिकलाई तयार गरिरहेका छौँ । त्यसमध्ये तीन युनिटले लेबल थ्री र एकले लेभल फोर पास गरिसकेका छन्,’ उनले भने, ‘लेभल फोर पास गर्ने अबको केही महिनाभित्रै मिसनमा जानेछन् । यो सबिकको सैनिक संख्यामा हुने थप सैनिक संख्या हो । अन्य टोलीलाई पनि तयारी अवस्था राखेका छौँ ।’

उच्च सैनिक अधिकृतका लागि सुरक्षित कोटा खारेज

शान्ति मिसनलाई सेनामा विशेष अवसरका रूप लिइन्छ । मिसनमा छनोट गर्दा विगतमा रथीका लागि तीन, उपरथीका लागि दुई र सहायक रथीका लागि एउटा विशेष कोटा सुरक्षित गरिएका हुन्थे । त्यस्तै, अवकाशप्राप्ततर्फ प्रधानसेनापतिका लागि दुई, रथी, उपरथी र सहायक रथीका एक÷एक कोटा सुरक्षित राखिएका हुन्थे । जसका कारण उनीहरूका आसपासका सैनिक आवश्यकताभन्दा धेरै र अन्यभन्दा चाँडो शान्ति मिसनमा जान्थे । तर, शान्ति सेना छनोट कार्यविधि २०७२ आएपछि सुरक्षित गरिएका सम्पूर्ण कोटा प्रणाली खारेज गरिएको छ । जसले गर्दा शान्ति सेनामा जाने साधरण सेवातर्फको सिट संख्या बढेको हो । 

सेनाको तथ्यांकअनुसार कोटा खारेज भएयता साधारणतर्फका तीन सय ९५ सैनिक शान्ति मिसनमा जाने मौका पाएका छन् । त्यसबाहेक सेनामा विशेष फौज, इन्जिनियर, मेडिकल र सिग्नलतर्फ सुरक्षित गरिएका कोटा पनि खारेज गरिएका छन् । जसको प्रत्यक्ष लाभ साधारणतर्फका सैनिकलाई पुगेको छ । सैनिक प्रवक्ता पौडेलले कोटा प्रणाली खारेजीपछि साधारणतर्फका पैदल फौजको शान्ति मिसनमा जाने पालो चाँडो आएको बताए । ‘सेनामा पैदल फौजको संख्या धेरै छ । कोटा प्रणाली हुँदा उनीहरूको पालो १४ वर्षसम्म पनि आउँदैनथ्यो । विशेष फौजअन्तर्गतका सैनिक सेवा सुरु गरेको ६ वर्षमै शान्ति मिसन जाने सक्ने व्यवस्था हुँदा मिसनको सन्तुलन नै बिग्रन सक्ने देखियो,’ उनले भने, ‘त्यसैले यस्तो व्यवस्था संशोधन गरी सबै खालका कोटा खारेजी गरिएका छन् । यसको प्रत्यक्ष लाभ पैदल फौजले लिने मौका पाए । यो निर्णयले नेपाली सेनामा उत्साह ल्याएको छ ।’

साढे १३ हजार सैनिक शान्ति मिसन जान बाँकी

सेवा सुरु गरेको ११ वर्षपछि पैदल सैनिक शान्ति मिसनमा जान सक्ने व्यवस्था छ । नेपाली सेनाको तथ्यांकअनुसार गत असार अन्तिमसम्म सेवा सुरु गरेको १५ वर्षपछि पनि मिसनमा जान नपाएका पैदल सैनिक एक हजार नौ सय ४९ छन् । त्यस्तै, १४ वर्ष सेवा अवधि पुगेका ६ हजार सात सय ३०, १३ वर्ष पुगेका एक हजार सात सय ७९, १२ वर्ष पुगेका एक हजार चार सय २ र ११ वर्ष पुगेका एक हजार ६ सय ३७ गरी कुल १३ हजार चार सय ९७ शान्ति सेना जान योग्यता पुगेका, तर जान नपाएका पैदल सैनिक छन् । जबकि सेनामा तल्लो तहका सैनिकका लागि अवकाश अवधि १६ वर्ष तोकिएको छ । 

प्राविधिकतर्फ भने सेवा सुरु गरेको नौ वर्षपछि नै शान्ति मिसन जान सक्ने प्रावधान छ । प्राविधिक सेवातर्फका सैनिक पैदल सैनिकको तुलनामा चाँडो मिसन जाने अवसर पाउँछन् । यद्यपि यसतर्फ १४ वर्ष पुगेका २३, १३ वर्ष पुगेका १९, १२ वर्ष पुगेका ३१ र ११ वर्ष पुगेका ३९ गरी कुल एक सय १२ जना शान्ति मिसनमा जान योग्यता पुगेका, तर जान नपाएका प्राविधिक सैनिक छन् । 

र्याङ्किङका आधारमा शान्ति मिशनमा सेना पठाउने विश्वका १० मुलुक

शान्ति स्थपनार्थ द्धन्दग्रस्ता मुलुकमा सुरक्षाकर्मी पठाउने सुचिका आधामा नेपाल चौथो स्थानमा छ । पहिले स्थनमा बंगलादेश छ । दोस्रो र तेस्रोमा इथोपिया र रुवाण्डा छ । छिमेकी मुलुक भारत नेपाल भन्दा पछि पाचौं स्थानमा छ भने पाकिस्थान छैठौं स्थानमा छ । त्यस्तै छिमेकी मुलुक चीन भने नवौं स्थानमा छ ।

१. बंगलादेश २. इथोपिया ३. रुवण्डा  ४. नेपाल ५. भारत ६. पाकिस्तान ७. इजिप्ट ८. इण्डोनेसिया ९. चीन १०. घाना