Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
साहित्य, कला र संस्कृतिका सन्दर्भमा माओ - Janabato

साहित्य, कला र संस्कृतिका सन्दर्भमा माओ

नयाँ जनवादी संस्कृति विश्व समाजवादी क्रान्तिको अंग

साहित्य, कला र संस्कृतिका सन्दर्भमा माओ

 

कृष्ण सेन ‘इच्छुक’

मार्क्सवादी सौन्दर्यचिन्तनको विकासमा प्लेखानोभ गोर्की, लुनाचास्र्की, लु सुन, क्रिस्टोफर कड्वेल, राल्फ फाक्स, ज्दानोभ, हावर्ड फास्ट, जर्ज लुकाच, फिसर थोम्सन जस्ता कला चिन्तकहरुले पनि महत्वपूर्ण योगदान पुर्याएको कुरालाई अस्वीकार गर्न सकिदैन तापनि यसलाई नविन सौन्दर्य चिन्तनका रुपमा बिजारोपण गर्नेदेखि उच्च विकासको वर्तमान अवस्थासम्म पुर्याउनमा मार्क्स, एङ्गेल्स, लेनिन र माओजस्ता राजनीतिक चिन्तकहरुको भूमिका सर्वोपरी रहिआएको छ ।

आफ्ना अग्रजहरुले जस्तै माओले पनि कला, साहित्य र संस्कृतिका क्षेत्रमा पर्याप्त समय दिन पाउनुभएन तैपनि वर्गसंघर्षका क्रममा देखा परेका विविध समस्याहरुलाई हल गर्दै जाँदा साहित्य र कलाका सम्बन्धमा जुन विचारहरु प्रकट गर्नुभयो ती मार्क्सवादी  सौन्दर्यचिन्तनका क्षेत्रमा महत्वपूर्ण सैद्धान्तिक प्रस्थापनाहरु बन्न पुगेका छन् । ‘नौलो जनवादबारे’ नामक आफ्नो राजनीतिक दस्तावेजमा माओले चर्चा गर्नुभएको ‘नौलो जनवादी संस्कृति’, येनान गोष्ठीमा कला र साहित्यबारे प्रवचन र साँस्कृतिक कार्यमा संयुक्त मोर्चा जस्ता रचनाहरु यस सन्दर्भमा विशेष उल्लेखनीय छन् ।

माओका यी रचनाहरु तात्कालीक चीनको विशिष्ट स्थितिमा मात्रै नभएर अर्थसामन्ती र तथा अर्धऔपनिवेशिक अवस्थामा रहेका संसारभरीकै मुक्तिकामी जनताको साँस्कृतिक आन्दोलनका निम्ति नै पथप्रदर्शक बन्न पुगेका छन् । यसैगरी समाजवादी समाजको निर्माण प्रक्रियामा साहित्य र कलाको महत्वलाई आत्मसात् गर्दै प्रतिपादन गरिएको महान् सर्वहारा साँस्कृतिक क्रान्तिको सिद्धान्तले माओका योगदानहरुलाई नौलो जनवादको अवधिसम्म मात्र सीमित नपारी समाजवाद र साम्यवादको अवधिसम्म समेत विस्तार गरेको छ ।

‘नौलो जनवादबारे’ रचनामा माओले ४ मे १९१९ को आन्दोलनपछि चीनमा राजनीतिक मोर्चामा जस्तै साँस्कृतिक आन्दोलनको विचारधारात्मक मोर्चामा नयाँ विशेषता देखा परेको र नयाँ साँस्कृतिक शक्ति अस्तित्वमा आएको बताउनुभयो । ४ मेको आन्दोलन अगाडि चीनको साँस्कृतिक मोर्चामा पुँजीपति वर्गको नयाँ संस्कृति र सामन्तवर्गको पुरानो संस्कृतिकाबीच संघर्ष थियो । त्यो नयाँ संस्कृतिको नेतृत्व पूँजीपति वर्गले गर्दथ्यो । तर ४ मेको आन्दोलनपछिको आन्दोलन नयाँ जनवादी प्रकारको भयो र त्यसको नेतृत्वदायी भूमिका निर्वाह गर्न सर्वहारावर्ग अगाडि आयो ।

फलस्वरुप नयाँ जनवादी संस्कृति विश्व समाजवादी क्रान्तिको अंग र विशाल जनसमुदायको साम्राज्यवाद तथा सामन्तवाद विरोधी संस्कृति बन्न पुग्यो । यसरी अगाडि आएको नयाँ जनवादी सांस्कृतिक आन्दोलनको मोर्चामा त्यसपछि अन्य मोर्चाभत्र जस्तै दुई लाईन वा कार्यदिशाको संघर्ष सुरु भयो । चौथो दशकको आरम्भतिर वाङमिङको वामपन्थी अवसरवादी लाईनभित्र ‘ढोकाबन्द’ को संकीर्णतावादी भड्काव देखा पर्यो भने त्यसै दशकको अन्त्यतिर चाओ याङ गुटको नेतृत्वमा ‘राष्ट्रिय सुरक्षाको साहित्य’ को नाराका रुपमा दक्षिणपन्थी आत्मसमर्पणवादी भड्काव देखा पर्यो ।

यो समय चीनको क्रान्तिकारी आन्दोलनमा दुई लाइन संघर्षले तिप्र रुप लिएको बेला थियो । त्यतिखेर राजनीकित आर्थिक अवस्थाकै प्रतिबिम्बका रुपमा साहित्य, कला र संस्कृतिका क्षेत्रमा पनि तिव्र वादविवाद र बहस भइरहेको थियो । त्यसैबेला सांस्कृतिक क्षेत्रमा एकातिर ‘कला कलाका निम्ति’ भन्ने लेखक कलाकारहरुको ठूलो जमात थियो भने अर्कोतिर ढुलमुले निम्नपुँजीवादी लेखक कलाकारको दिशाहीन अवसरवादी जमात पनि अस्तित्वमा थियो ।

‘नयाँ जनवादी संस्कृति’ सम्बन्धि रचना तयार पारेर माओले नयाँ संस्कृति र सांस्कृतिक आन्दोलनको दिशालाई सुस्पष्ट पार्नुभयो भने येनान गोष्ठीमा कला र साहित्यबारे प्रवचनद्वारा कला साहित्यका क्षेत्रमा प्रचलित गलत दृष्टिकोणहरुको चिरफार गर्नुका साथै लेखक कलाकारहरुलाई मार्क्सवाद–लेनिनवादको विज्ञानलाई अध्ययन गर्न र सही विश्वदृष्टिकोण अपनाउन जोड दिनुभयो ।

माओले के कुरा प्रस्ट पानुभयो भने जनताको मुक्तिको संघर्षमा शत्रुलाई पराजित गरेर विजय हासिल गर्न विभिन्न मोर्चाहरुमध्ये बन्दुकधारी मोर्चाको भूमिका नै प्रमुख हुन्छ तापनि क्रान्तिभन्दा अगाडि विचारधारात्मक रुपले क्रान्तिको आधार तयार पार्न र क्रान्तिपछि त्यसलाई सुदृढ तुल्याउन सांस्कृतिक मोर्चाको पनि त्यतिकै ठूलो भूमिका हुन्छ । उहाँले ‘कला कलाका लागि’ भन्ने बुर्जुवा सिद्धान्तको खण्डन गर्दै भन्नुभयो, ‘साहित्य र कला जनताका लागि हुनुपर्छ र ती लेनिनले भनेझै क्रान्तिको मेसिन र दाँती बन्नुपर्छ ।’ सबै साहित्य र कला निश्चित राजनीतिक दिशातिर हाँकिएका हुन्छन् भन्दै माओले दुस्मनलाई पराजित गर्न र जनतालाई प्रशिक्षित तथा गोलबन्ध गर्दै शक्तिशाली हतियारका रुपमा विकास गर्न लेखक कलाकारहरुलाई वर्गदृष्टिकोण, रुझान पाठक–दर्शक, काम र अध्ययनका समस्याहरुमाथि ध्यान दिन जोड दिनुभयो ।

साहित्य र कलालाई सामाजिक जीवनको प्रतिबिम्ब हो भन्दै माओले समाज तथा सामाजिक जीवनलाई साहित्य र कलाको प्रमुख स्रोत बताउनुभयो । जनताको जीवन साहित्य र कलाको प्रमुख स्रोत र कच्चा पदार्थको भण्डार भएपनि साहित्यभन्दा यो अत्यन्तै सजिव, समृद्ध र मौलिक हुन्छ भन्ने कुरा उहाँले स्पष्ट पार्नुभयो र तैपनि मानिसहरु जीवनलाई मात्र हेरेर किन सन्तुष्ट हुन सक्दैनन् र कला साहित्यको माग गर्दछन् भन्ने कुरामाथि प्रकाश पार्दै माओले भन्नुभयो, ‘यद्यपि ती दुवै सुन्दर हुन्छन्, परन्तु साहित्यिक रचनाहरु र कलाकृतिमा प्रतिबिम्बित हुने मानवजीवन दैनिक वास्तविक जीवनभन्दा बढी भव्य, बढी तिव्र, बढी घनिभूत, बढी विशिष्ट, आदर्शको बढी नजिक हुन्छ, त्यसैले अझ बढी प्रभावपूर्ण हुन्छ र यस्तो हुनु पनि पर्दछ ।’ माओको यस भनाईले यथार्थ र कलाको द्वन्द्वात्मक सम्बन्ध तथा साहित्य र कलाबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरामाथि राम्ररी प्रकाश पार्दछ ।

माओले वर्गसमाजमा साहित्य र कलाको राजनीतिक र कलात्मक मापदण्ड हुन्छ भन्दै सबै समाजमा हरेक वर्गले सधैं नै सबैभन्दा पहिले राजनीतिक कसी वा मापदण्डलाई नै प्राथमिकता दिन्छ भन्नुभयो । त्यसैले गर्दा नै जतिसुकै उच्च सीप र कलात्मक सौन्दर्यले भरिएका रचनाहरु भएपनि क्रान्तिकारी अन्तर्वस्तु भएका रचनाहरु प्रतिक्रियावादीहरुका लागि ग्राह्य हुँदैनन् । त्यसैगरी जतिसुकै सुन्दर सिप र शैलीले सिंगारिएका भएपनि प्रतिक्रियावादी रचनाहरु क्रान्तिकारीहरुका लागि ग्राह्य हुँदैनन् ।

कलात्मक मापदण्ड र राजनीतिक मापदण्डलाई गौण बताउनुको अर्थ रचनाको कला पक्षलाई नै उपेक्षा गरेको भने होइन । उहाँले प्रतिक्रियावादी विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्ने रुपवादी शैली तथा प्रगतिशील राजनीतिक चिन्तनलाई नारामा प्रस्तुत गर्ने पोष्टरे शैलीको पनि विरोध गर्दै विषयवस्तु र रुपबीच द्वन्द्वात्मक एकताको माग गर्दै भन्नुभएको छ, ‘हामी जुन चीजको माग गर्दछौं त्यो हो राजनीति र कलाको एकता, विषयवस्तु र रुपको एकता, क्रान्तिकारी राजनीतिक विषयवस्तु र यथासम्भव बढी पूर्ण कलात्मक रुपको एकता ।’

उहाँले बुद्धिजीवी तप्काबाट आएका लेखक कलाकारहरुको भावनात्मक रुपान्तरणमा पनि अत्याधिक जोड दिनुभएको छ र जसको अर्थ एक वर्गबाट अर्को वर्गमा रुपमान्तरण हो र यसलाई उहाँले अनिवार्य बताउनुभएको छ । यसरी व्यक्तिले आफ्नो भावनात्मक रुपान्तरण वा पुनः संस्कार नगरीकन आम जनताको मुक्ति र क्रान्तिका निम्ति सुयोग्य बन्न र यथेस्ट सहयोग गर्न सक्दैन ।

सरलता र स्तरीयताको प्रश्नलाई पनि महत्वपूर्ण रुपमा उठाउँदै माओले जनताको निम्ति लेखिने साहित्यको भाषा तथा शैर्ल सरल र बोधगम्य हुनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘स्तर उकास्ने काम सरलीकरणमा आधारित हुन्छ भने सरलीकरणको काम स्तर उकास्ने कुराबाट निर्देशित हुन्छ ।’ सरलता र स्तरीयता सामाजिक स्थिति र पाठकहरुको चेतनासित सम्बन्धित हुन्छ र यसलाई एक अर्काको विरोधी नभएर सहयोगी पुरकका रुपमा लिनुपर्छ भन्ने माओको मान्यता रहेको छ ।

राजनीतिक रुपले क्रान्ति सम्पन्न भइसकेर पनि सदियौंदेखि जनताको मनमस्तिष्कमा पुराना र संस्कारका रुपमा जमेर बसेका शत्रुहरुलाई समाप्त पार्न सांस्कृतिक क्षेत्रमा पनि निरन्तर वर्गसंघर्ष चलाउन आवश्यक हुन्छ । त्यसो गरेर मात्रै सबैखाले विषालु झारपात र अवैज्ञानिक चिन्तनहरुलाई मिल्काउन सकिन्छ ।

माओले ‘सयौ फूलहरुलाई फुल्न देऊ’ भन्दै लेखक र कलाकारहरुका सिर्जनात्मक कार्यलाई एकातिर प्रोत्साहित गर्नुभएको छ भने अर्कोतिर पूजीवादी र संशोधनवादीहरुका विरुद्ध पनि निरन्तर संघर्ष चलाउनुपर्ने कुरामा ठूलो जोड दिनुभएको छ । यही नै सांस्कृतिक क्रान्तिको सार हो । अर्को शब्दमा यो दुनियाँ बदल्नका लागि पहिले स्वयम् आफैलाई बदल्ने प्राथमिक महत्वको क्रान्ति हो । यो भौतिक र मानसिक दुवै क्षेत्रमा परिवर्तन ल्याउदै पुँजीवादी विचारधारा र संशोधनवादलाई अन्तिम रुपले समूल नष्ट नपारेसम्म निरन्तर सञ्चालन गर्दै अघि बढिरहनुपर्ने क्रान्ति हो । महान सर्वहारा सांस्कृतिक क्रान्ति माओका शब्दमा स्वर्ग र धरतीलाई कम्पायमान बनाउने युगान्तकारी घटना हो ।

यस प्रकार माओले मार्क्सवाद–लेनिनवादलाई सैद्धान्तिक र राजनीतिक रुपमा माओवादकाृ नयाँ र उच्च चरणमा विकास गर्नुका साथै माक्र्स र लेनिनपछि साहित्य, कला र संस्कृतिका क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिनुभएको छ । आज हाम्रोदेश एकातिर माक्र्स, लेनिन र माओको नाम जप्दै मार्क्सवाद–लेनिनवाद–माओवादको वैचारिक गुदीलाई नै विकृत र खोक्रो तुल्याउने धमिराहरुको बिगबिगी छ भने अर्कातिर कमरेड माओ र उहाँका क्रान्तिकारी सिद्धान्तहरुमाथि सबै प्रकारका प्रतिक्रियावादी तथा संशोधनवादीद्वारा भीषण आक्रमण भइरहेछ ।

उनीहरु क्रान्तिकारी पार्टी, जनता र मुक्तियोद्धाहरुविरुद्ध एउटै पंक्तिमा उभिएर मोर्चाबन्दी गरिरहेछन् । किनभने माओवाद नै तिनीहरुको जर्जर किल्लालाई ढाल्ने सबैखाले खतरनाक अस्त्र बनेको छ । त्यसैले क.माओले सल्काउनुभएको क्रान्तिकारी मशाललाई आफ्नो सिर्जन, चिन्तन तथा कर्ममा अझै प्रज्वलित पार्दै संघर्षमा अगाडि बढ्नु नै सबै संस्कृतिकर्मीहरुको आजको आवश्यकता हो ।

इच्छुक रचनावली