Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
मार्क्सको खेती [कविता] - Janabato
मार्क्सको खेती [कविता]

-निभा शाह

तल तल तहेखाना बनायो
वेश्यालय चलायो
माथि माथि पार्टी बनायो
मुलुक चलायो
क्या गजबको देश
क्या गजब भो देश

मुलुकको मुखिया पनि आफैँ
वेश्यालयको दलाल पनि आफैँ
दलाल र मुखियाको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश ।

तल तल तहेखाना बनायो
रामनामी चलायो
माथि माथि हँसिया हथौडा बनायो
मार्क्सवाद चलायो
क्या गजबको देश
क्या गजब भो देश

रामको हनुमान पनि आफैँ
मार्क्सको लेनिन पनि आफैँ
लेनिन र हनुमानको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश

तल तल ताहेखाना बनायो
लेन्डुपवाद चलायो
माथि माथि भीमसेनको मूर्ति बनायो
राष्ट्रियता चलायो
क्या गजबको देश
क्या गजब भो देश

भीमसेन पनि आफैँ
लेन्डुप पनि आफैँ
भीमसेन र लेन्डुपको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश ।

तल तल ताहेखाना बनायो
पुँजीवाद चलायो
माथि माथि हँसिया हथौडा बनायो
लालसत्ता चलायो
क्या गजबको देश
क्या गजब भो देश

सर्वहाराको मार्क्स पनि आफैँ
पुँजीवादको मार्सल पनि आफैँ
मार्क्स र मार्सलको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश
गान्धारीको पट्टी खुल्ने
एक दिन होला देश ।।