म पन्छी हुँ

-पवन ज्ञवाली

हो म पन्छी हुँ
मलाई बन्दी नबनाऊ
मेरा पखेटाका निला डामहरू हेर
अझै नयाँ प्वाँख पलाएका छैनन्

उड्न खोजेका पखेटालाई हेर
मेरा छाला चिर्दै आएका प्वाँखहरू हेर
नरोकिदेऊ ती प्वाँखहरू
मलाई उड्नु छ, म पन्छी हुँ 

मलाई अरु जे सुकै बनाऊ
तर बन्दी नबनाऊ
मलाई देखेर अरु पनि उड्ने चाह राख्दछन्
मेरा पछाडी हजारौँ पन्छी छन्
तर म तिमीले सोचेजस्तो पन्छी होइन
तिम्रो सोच नै परिवर्तन गर्ने पन्छी हुँ
मलाई बन्दी नबनाऊ 
म उड्न चाहन्छु ।

तिमीले खूनलाई अबिर देख्छौ
म अबिरलाई पनि खुन देख्छु
तिमी र म बीच धेरै फरक छ 
म राता दाना दिएर सेता दाना खुवाउँछु
तिमी धमिलो पानीमा सिकार हान्छौ
पानीमा आगो लगाएर सिकार हान्छु भन्नेहरू
कति पीडा छ, साँच्चिकै सिकार गरी माछा खुवाउन ।

हो, म त्यहीँ पन्छी हुँ
जो साँच्चिकै राता दाना दिएर सेतो माछा
खुवाउँछु
तिमी त्यहीँ सिकारी हौ, जो धमिलो पानीमा
सिकार हान्छौ
याद गर पानीमा पनि अनगिन्ति हुन्छन्
त्यो दिन तिम्रो बल्छीले पनि भार नथेग्न सक्छ 
त्यो दिन म तिमीलाई पनि उड्न सिकाउँछु

म पन्छी हुँ
मलाई बन्दी नबनाऊ
एकदिन तिमीलाई पनि उड्न सिकाउनु छ 
आज तिमी समयको गुलाम भएका छौ
म उड्ने दिन तिम्रो समय बताउने
घडीका सुइँले सामूहिक आत्महत्या गर्ने छन् 

मलाई बन्दी नबनाऊ
म पन्छी हूँ उड्न चाहन्छु
तर म कहिल्यै नआउने गरि उड्न चाहन्छ ु
पन्छीलाई थाहा छ कि उसको बाँस जमिन मै हो
तर म त्यस्तो पन्छी हूँ
जसलाई यस्तो जमिन बाट उड्नु छ 
जहाँ भिषण वर्ग अनि दमन छ ।
०००

(लालदिशा)