चैत १४, अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिसरभित्र नवनिर्मित नागरिक सहायता कक्ष तथा कन्ट्रोल रूम भवनको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले गर्नु भएको थियो ।
उद्घाटन मन्तव्य राख्दै उहाँले मुलुकमा शान्ति शुरक्षाको सु–व्यवस्थापन, आम नागरिकको जीउधन र स्वतन्त्रताको रक्षा गर्ने नेपाल प्रहरीको दायित्व भएको बताउँनुभयो । उहाँले समाजमा हुने अपराध अनुसन्धान तथा नियन्त्रणको सन्दर्भमा कानूनद्वारा निर्देशित गरिएका जिम्मेवारीहरू ईमान्दारिताका साथ पालना गर्दै अगाडि बढ्न प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशित गर्नुभयो । उहाँले चुरे क्षेत्रमा खोला नालाबाट हुने गरेको दोहनमा प्रहरी सजग भएको बताउँदै, स्थानीय खोलाहरूमा हुने दोहन, गैरकानूनी कार्यमा प्रहरीको अनैतिक मिलेमतो भएको पाईएमा संगठनले त्यस्ता व्यक्तिलाई कडा कारबाहि गर्ने बताउनुभयो ।
समुदाय प्रहरी साझेदारि कार्यक्रम अन्तरगत स्थानीय तह प्रहरी कर्मचारी तथा समाजसेवीको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।
भवन निर्माणमा सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका तथा समाजसेवी व्यक्ति कृष्ण प्रसाद श्रेष्ठबाट आर्थिक तथा भौतिक सहयोग भएको थियो । भवन निर्माणमा सहयोग पुर्याउने सबै स्थानीय निकाय, समाजसेवी लाई खादासहित कदरपत्रले सम्मान गरिएको थियो भने निर्माण कार्यमा महत्वपूर्ण योगदान प्रदान गर्ने प्रहरी जवानहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
समुदाय प्रहरीसाझेदारजिल्ला समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षता सन्चालित कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक, मालारानी गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्य, उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ ,पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीको स्वागत तथा प्रहरी निरीक्षक सुजन शाहको सन्चालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख एवं जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्