बुटवलमा युवा संगठन नेपालको वैचारिक प्रशिक्षण

पुँजीवादी संकट र यसको समाधानका लागी संघर्ष आवश्यक

बुटवलमा युवा संगठन नेपालको वैचारिक प्रशिक्षण

चैत १४, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय संगठन युवा संगठन नेपाल लुम्बिनी ब्युरोले शनिबार राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य कृतिले पार्टी र क्रान्तिमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै संसदीय पुँजीवादी व्यवस्थाले पैदा गरेको संकट र यसको समाधानका लागी संघर्ष आवश्यक भएको बताउनु भएको छ ।

उहाँले आजका युवाहरु पुँजीवादको दास हुन नहुने भन्दै वैज्ञानिक समाजवाद प्राप्तिको संघर्षमा युवाहरुले नेतृत्व गर्नुपर्ने उताउनु भयो । नेता कृतिले अहिले सरकार र पार्टीबीच सम्झौता नभई ३ बुँदे सहमति मात्र भएको बताउँदै क्रान्तिलाई कहिल्यै निभ्न नदिने बताउनु भयो । अहिले राज्यका कारण लाखौं युवाहरु वैदेशिक रोजगारमा जान बाध्य भएको र नेपालमा रहेका अधिकांश युवाहरु कुलतमा लागेर जीवन खेर फालिरहेको भन्दै क्रान्तिमा नै युवाहरुको भविष्य सुनिश्चित भएको इन्चार्ज कृतिले बताउनु भयो । उहाँले हतियारबारे उठेको बिषयबारे चर्चा गर्दै कुनै युद्ध नभएको कारण आफुहरुसँग हतियार नभएको स्पष्ट पार्दै शोषण रहँदासम्म मस्तिष्कलाई शसस्त्र बनाउनुपर्ने बताउनु भयो । नेता कृतिले भन्नुभयो, “दलाल पुँजीवादका विरुद्ध नेपालका सेना र प्रहरीले समेत लड्नुपर्छ ।” फरक प्रसंगमा नेता कृतिले युवाहरु सामूहिक उत्पादनमा जोडिएर पार्टी र क्रान्तिलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयो । 

युवा संगठन नेपालका चौंथो राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजक पाटन जंगालीले सचेत युवाहरु नयाँ वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिका लागी युवा संगठन नेपालमा संगठित हुन आवश्यक भएको भन्दै युवाहरुको मुक्तिका लागी क्रान्तिको विकल्प नभएको बताउनु भयो । संयोजक पाटलीले विश्व साम्राज्यवाद तथा दलाल पुँजीवादका विरुद्ध क्रान्तिलाई निरन्तरता दिदै आजको युवाको संकटको मुख्य कारण पुँजीवाद भएको बताउनु भयो । उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संगठनले निरन्तर संघर्ष आएको बताउदै भ्रष्ट, राष्ट्रघाती दलालहरुको विरुद्ध सम्झौताहिन संघर्ष गर्ने बताउनु भयो । 

प्रशिक्षण कार्यक्रममा नेकपा पाल्पाका सेक्रेटरी प्रभात, संगठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगर, संगठनका नवलपुर अध्यक्ष अविनाश र कपिलवस्तु अध्यक्ष बादलले समेत बोल्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा ब्युरो अन्तर्गतका कपिलवस्तु, रुपन्देही, गुल्मी, नवलपुर, अर्घाखाँची, पाल्पा, नवलपरासी जिल्लाहरुबाट युवाहरुको सहभागिता रहेको थियो ।