बैशाख ९, बुटवल । सन् १८७० अप्रिल २२ तारिखमा विश्व सर्वहारा आन्दोलनका महान् नेता कामरेड लेनिनको जन्म भएको थियो । अप्रिल २२ मा लेनिन जन्मिएको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीको वि.सं. २००६ सालमा स्थापना गरिएको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल हुनुहुन्थ्यो भने सदस्यहरू निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्य हुनुहुन्थ्यो । नेकपाको स्थापना चार जना व्यक्तिहरूले भारतको कलकत्तामा गर्नुभएको थियो ।
स्थापना भएको ७१ वर्ष पुगेर ७२ औं वर्षमा प्रवेश गर्दासम्म नेपालको कम्युनिष्ट आन्दोलनले ठूला–ठूला आरोह–अवरोह, विवाद र टुटफुट झेलेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा पार्टी स्थापनाको मिति र संस्थापक सदस्यहरूको विषय समेत विवाद हुने गरेको छ । सन् १९४९ सेप्टेम्बर १५ मा नेकपाको पहिलो घोषणा–पत्र जारी गरिएको थियो । कतिपय पार्टीहरूले घोषणापत्र जारी भएको दिनलाई पार्टी स्थापना दिवस दावी गरेर नेपालको कम्युनिष्ट आन्दोलनमा अनावश्यक विवाद गरेका छन् । पार्टी स्थापना पछि संस्थापक महासचिव पुष्पलालले मोतिदेवी श्रेष्ठलाई पनि संस्थापक सदस्य बताएर संस्थापकहरूकै बारेमा विवाद उत्पन्न गरेका थिए । तर इतिहासले पुष्टि गर्दछ संस्थापक व्यक्तिहरू चारजना मात्र थिए र पार्टीको स्थापना २२ अप्रिल मै भएको थियो ।
वि.सं. २०१९ को तेस्रो महाधिवेशनसम्म नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी थियो । तेस्रो महाधिवेशन पछि नेकपा थुप्रै गुट उपगुटमा विभाजन भयो। तेस्रो महाधिवेशनबाट महासचिवको रूपमा निर्वा्चित तुल्सीलाल अमात्यले शोभियत संशोधनवादी धारा “राष्ट्रिय प्रजातन्त्र” को लाइनलाई अंगिकार गरे भने २०२४ सालमा पुष्पलालले अलग्गै राष्ट्रिय सम्मेलन गरेर नयाँ जनवादको लाइनको पक्षमा वकालत गरे। तेस्रो महाधिवेशनबाट अलग्गिएका राजावादी केशरजंग रायमाझीले पंचायतको सेवा गर्ने कम्युनिष्ट पार्टी गठन गर्न पुगे । २०२८ र २९ सालतिर झापाली समूहले पूर्वी नेपालमा भारतको चारूमजुम्दारको नक्सलवादी आन्दोलनको प्रभावमा झापा विद्रोह गरेका थिए । त्यो स्थितिमा वि.सं. २०२० को दशकको अन्त्यतिर मोहनविक्रम सिंहलगायतका कम्युनिष्ट नेताहरू जेलबाट रिहा भएपछि “न्यूक्लियस”को गठन गर्दै नेकपालाई सुदृढ बनाउँदै अगाडि बढाउने काम भयो । जसले २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न गर्याे । २०३० को दशकभरी चौथो महाधिवेशन पक्षधर कम्युनिष्ट पार्टी नेपालको सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टी थियो । उतातिर २०२८ को झापाली समूह अन्य विभिन्न समूहसँग एकता गर्दै उता २०३६ सालमा नेकपा मालेको रूपमा देखापर्यो र नेकपा माले र माक्र्सवादीको एकीकरण हुँदै २०४७ सालमा नेकपा (एमाले) गठन भयो । त्यसले “बहुदलीय जनवाद” को दक्षिणपन्थी कार्यक्रम अपनाउन पुग्यो ।
२०४० को दशकको शुरूबाट चौथो महाधिवेशन पक्षको टुटफुट शुरू भयो र चौथो महाधिवेशनको एउटा धारले २०५२ साल फागुन १ गते जनयुद्वको घोषणा भयो । महान जनयुद्धले संसदीय व्यवस्था विरुद्ध सङ्घर्ष गर्यो । प्रतिक्रियावादीहरु गाउँ छाडे । दुश्मनका किल्लाहरुमा भीषण हमला भयो । जनयुद्धले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा क्रान्तिको सन्देश दियो । जनमुक्ति सेना, जनअदालत र जनसत्ताहरु निर्माण भए । शान्तिप्रक्रियापछि प्रचण्ड बाबुराम समूह माओवादी आन्दोलनबाट बाहिरियो । बाबुराम समूहले कम्युनिष्ट आन्दोलन नै छाड्यो । प्रचण्ड बादल समूह एमालेमा मिसियो । २०६८ सालमा किरणको नेतृत्वमा विद्रोह भयो । त्यो पनि अकर्मण्यतामा फसेपछि २०७१ मंसिर ८ गते विप्लवको नेतृत्वमा नेकपा माओवादी पुनर्गठन भयो । महासचिव विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति कार्यदिशा सहित उक्त पार्टी सङ्घर्षमा छ । अहिले सरकारी डबल नेकपा नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको छ ।
नेकपाको समग्र इतिहासबाट यो पुष्टि हुन्छ कि सच्चा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन शंसोधनवाद र दक्षिणपन्थी अवसरवादलाई परास्त गर्न जरूरी छ । अहिले ‘युग फेरिएको’ र ‘विकास र समृद्धि’को नाममा राजनीतिक क्रान्ति सकिएको भनेर प्रचार गरिरहेका छन् । यसले कम्युनिष्ट आन्दोलनलाई बदनाम मात्रै गरेको छैन, जनतामा ठूलो भ्रम समेत पैदा गरेको छ । यो प्रवृत्तिका विरूद्ध सङ्घर्ष गर्दै माक्र्सवाद लेनिनवाद माओवादको पथप्रदर्शक सिद्वान्तमा आधारित कम्युनिष्ट आन्दोलनले मात्रै जनताको मुक्ति सम्भव छ र नेपालमा क्रान्ति सम्भव छ । दलाल पुँजीवादी राज्यव्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागी सम्पूर्ण क्रान्तिकारीहरु एकठाउँमा उभिएर सङ्घर्षको विकल्प छैन । अहिले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध राज्यले हटाएको छ र राज्यपक्षसँग ३ बुँदै सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेकपा इमान्दार देखिन्छ भने राज्यपक्षले कार्यान्वयनमा ढिला गरेको छ । नेकपाका नेता कार्यकर्तालाई जेल हिरासतबाट राज्यपक्षले तत्काल रिहा गर्नुपर्छ र सम्पूर्ण नेता कार्यकर्तामाथि लगाइएका मुद्दाहरुलाई तत्काल खारेज गर्नुपर्छ । अर्कोतिर नेपालको अधुरो क्रान्ति सम्पन्न गर्न देशभक्त र क्रान्तिकारीहरु एकीकृत भएर संघर्षलाई जोड दिनुपर्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविको सवाललाई हल गर्न क्रान्तिकारीहरुले मात्र सक्छन् । त्यसका लागी क्रान्तिकारीहरु बीच एकता, धु्रवीकरण र सहकार्य आजको आवश्यकता हो । नेकपाले यसले मात्र कम्युनिष्ट पार्टी स्थापना दिवस र लेनिन जयन्ती मनाउनुको सार्थकता रहनेछ ।
प्रतिक्रिया राख्नुहोस्