कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

१६ गते बिहान ६ बजेदेखि २२ गते बेलुका १२ बजेसम्म एक हप्ताका लागि जिल्ला भरी लकडाउन गर्ने निर्णय

कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

बुटवल । कैलाली र कञ्चनपुर जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू गरिने भएको छ। दुबै जिल्लामा मंगलबार जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले वैशाख १६ देखि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

कैलालीमा मंगलबार बसेको सर्वदलीय बैठकले कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा लगाउन सहमति दिएको थियो।

यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन निषेधाज्ञा मात्रै गर्ने निर्णय गरेको थियो।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने, ‘अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि लकडाउन गर्नुपर्ने बाध्यता देखियो, १६ गते बिहान ६ बजेदेखि २२ गते बेलुका १२ बजेसम्म एक हप्ताका लागि जिल्ला भरी लकडाउन गर्ने निर्णय गरेका छौँ।’

उनले मंगलबार एक सूचना जारी गर्दै उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने जनाएका छन् । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहनेछन्। अत्यावश्यक सवारीसाधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइनेछ।