महासचिव विप्लवद्धारा शिवगढीमा कोरोना विरुद्ध जनस्वास्थ्य सेवाको उद्घाटन 

‘सबै मिलेर लडौं, कोरोना सङ्क्रमण परास्त गर्न सकिन्छ’ : महासचिव विप्लव

महासचिव विप्लवद्धारा शिवगढीमा कोरोना विरुद्ध जनस्वास्थ्य सेवाको उद्घाटन 

अनिल थारू / शिवगढी । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा नेकपाका महासचिव विप्लवद्धारा आइतबार कोरोना विरुद्ध जनस्वास्थ्य सेवाको उद्घाटन गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि कोरोना संक्रमितहरुको उपचारका लागि वडामा आइसोलेशन सेन्टर संचालन गरिएकोे छ । 

कोरोना विरुद्ध जनस्वास्थ्य सेवाको उद्घाटन गर्दै नेकपाका महासचिव विप्लपले वडा बासिहरुको फरक र सहज पद्धतिबाट उपचारका लागि आइसोलेशन सेन्टर संचालन गरिएको बताए । महासचिवले अहिले कोरोनाको दोस्रो कहर निकै खतरनाक रहेकोले यसबाट बच्न र बचाउन सबै लागि पर्नुपर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नुपर्ने बताए । महासचिव विप्लवले  सबै मिलेर लडेँ कोरोना सङ्क्रमण परास्त गर्न सकिने बताउँदैे  नागरिकको स्वास्थ्य सुरक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको बताए । उनले कोरोनाको उपचार असम्भव बन्दै गएको अवस्थामा यस महामारीबाट बच्न स्वास्थ्य मापदण्ड पालन गर्दै अरुलाई पनि बचाउनुपर्ने अहिलेको आवश्कता रहेको उहाँले बताए  । वडामा संचालनमा आएको आइसोलेशनलाई अझ विस्तार गर्न प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसंग पहल गर्ने प्रतिबद्धता समेत महासचिव विप्लवले व्यक्त गरे । 

वडाबासीलाई कोरोना संक्रमणबाट बचाउन र संक्रमितलाई सहज उपचार पहुँचका लागि सर्वपक्षिय छलफलबाट वडाको सुन्दरी डाँडामा रहेको प्रकाश मावीलाई आइसोलेशन सेन्टर बनाई संचालनमा ल्याउन लागिएको वडा अध्यक्ष चुरबहादुर खड्काले बताए । 

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डा. प्रकाश चन्दले शिवगढीबासी नागरिकलाई कोरोनाबाट बचाउन आफू सोही आइसोलेशनमा खटिने बताए । आइशोलेसनमा बस्ने संक्रमितहरुको कोरोना टेस्ट गर्नुका साथै संक्रमितलाई योग, सामान्य कसरत, बेसार, पानी, नुनपानी गार्गन, फ्रेस फलफुल दैनिक दुई पटक, जाउलो २ छाक, वाफ २ पटक, साउन बाथ दैनिक ३ पटक ,औषधी, अक्सिजन लगायतका सेवा दिइने डा. चन्दले बताए । कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पताल जादाँ अहिले अस्पतालमा बेड नपाइने समस्या रहेकोले कोरोनाको लक्षण देखिएसंगै उपचार सुरु गर्न आइशोलेसन संचालन गरिएको प्रकाशले बताए । प्रकाशले अहिले तत्काल नेपाल कम्युनिस्ट पार्टीबाट ५ थान बेड, वडाबाट १० थान बेड र अक्सिजन उपलब्ध भएको बताए । 

कार्यक्रममा नेकपाका नेता वीरजंग, सरस्वती मावीका प्र.अ. विक्रम केसी, नेकपा केन्द्रिय सदस्य कृति, नेकपा केन्द्रिय सदस्य असल, कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु, इलाका प्रहरी कार्यलाय सुन्डरीडाँडा इन्स्पेक्टर ज्ञवाली लगायत सामाजिक संघ संगठन, आमा समुह, युवा समुहको उपस्थिती रहेको बताइएको छ । 

वडा अध्यक्ष चुर बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका महासचिव विप्लपको प्रमुख आथित्यता रहेको थियो भने वडा नं. ९ का वडा सचिव प्रेमसागर वलिले कार्यक्रमको संचालन गरेका थिए ।