इन्दु वली । मंसिर ९, बुटवल । नेकपाको सातौं पार्टी पुनर्गठन दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा जनवादी विवाह कार्यक्रम सम्पन्न भएको स्रोतले जानकारी गराएको छ ।
कपिलवस्तु जिल्लामा सम्पन्न उक्त कार्यक्रममा नेकपा दाङका सचिवालय सदस्य हेमन्त जीसी र अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य शारदा भण्डारी बीच बैबाहिक कार्यक्रम सम्पन्न भएको हो । बैबाहिक कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, सहिद परिवार, आफन्त तथा परिवारको उपस्थिति रहेको बताइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरो इन्चार्ज भीमले जनवादी विवाह मार्फत् समाजमा विवाहका नाममा हुने उपभोक्तावादी संस्कृति अन्त्य गर्न मद्दत पुग्ने कुरामा जोड दिदै पार्टीले नयाँ जनवादी संस्कृतिलाई प्रोत्साहन गरेको बताएका थिए । इन्चार्ज भीमले वैवाहिक जीवनपछि बाँकी जीवन क्रान्तिको पक्षमा लगाउन आह्वान गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा नवलपुर इन्चार्ज ध्रुव, दाङ सेक्रेटरी गणेश, कपिलवस्तु सेक्रेटरी शेरमान लगायतले नवजोडीलाई शुभकामना दिएका थिए ।
कार्यक्रमको अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक बिरेन्द्र बिकको अध्यक्षता र केन्द्रीय सदस्य रूपा बुढामगरको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्