कालोबजारी रोक्न छत्रदेवका बजारमा घरेलु अनुगमन

अर्घाखाँची । कोरोना महामारीको दोस्रो लहरसँग देश जुँधिरहेको बेला देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । यो समयमा बजारमा हुने कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रणको लागि घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बजार अनुगमनलाई तिव्रता दिएको छ । 

स्थानीय सरकार, जिल्ला प्रशासन, जिल्ला प्रहरी कर्यालय लगायतको समन्वयमा अनुगमनलाई तिव्रता दिइएको छ । अनुगमनको क्रममा शुक्रबार जिल्लाको छत्रदेव गाँउपालिकाका  विभिन्न स्थानहरुमा अनुगमन गरिएको छ । गाँउपालिकाको वडा नं. २ र ३ का बजारमा अनुगमन गरिएको हो । अनुगमन  दैनिक उपभोग्य सामानहरुको बिक्री वितरण गर्ने पसलहरुमा गरिएको अनुगमनका क्रममा मूल्यसूची नराखी सामानहरु बिक्री वितरण गरेको  यस्तै विभिन्न सामानहरु प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको, मूल्यमा एकरुपता नरहेको पाइएको घरेलु तथा साना उद्योगका अधिकृत केशव सुनारले बताए । 

महामारिको समय तथा निषेधाज्ञाको समयमा सर्वसाधारण उपभोक्ताहरु नठगिउन् भन्ने उदेश्यका साथ अनुगमनलाई तीव्रता दिएको सुनारले बताए । विभिन्न स्थानमा गरिएको अनुगमनमा सुजी, चाउचाउ, भुजा, चाउमिन, कुरमुरे, चिचबल, बिस्कुट लगायतका विभिन्न सामानहरुको प्रयोग मितिनै समाप्त भै सकेको भेटिएकाले आफूहरुले ती सामान जफत गरी डिस्पोज गर्ने घरेलुुका सुचना अधिकृत लक्ष्मीप्रसाद दाहालले बताए ।  पहिलो चरणको अनुगमनको क्रममा भेटिएका कमि कमजोरीहरुलाइ फेरि पुन नदोहो¥याउने गरि छाडिएको र प्रयोग गर्न नमिल्ने त्यस्ता सामानहरु जफत गरिएको सूचना अधिकृत दाहालले बताए ।

अनुगमनमा घरेलु तथा साना उद्योगका प्रमुख अधिकृत केशव सुनार, घरेलु तथा साना उधोगका सूचना अधिकृत लक्ष्मिप्रसाद दाहाल, जिल्ला प्रशासन कर्यालयका प्रतिनिधि नारायण प्रसाद दमासे, पत्रकार अनिल नेपाली प्रहरी नायब निरिक्षक भेषराज सुबेदी लगायतको सहभागिता रहेको थियो । पछिल्लो केहिदिन यता जिल्लाका विभिन्न स्थानहरुमा कार्यालयले अनुगमनलाई तिब्रता दिइएको छ । अनुगमनमा करिब ३५ हजार बराबरको सामान जफत गरिएको पाइएको छ ।