बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले बुटवलमा जातीय विभेद विरुद्ध विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय विभेद विरुद्ध क्रान्तिकारीले आइतबार बुटवल, पुष्पलाल पार्कमा विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी, रुपन्देहीका जिल्ला सचिवालय सदस्य श्याम सेन्चुरी, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रुपा बुढा मगर र क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पारस राहादी मगरले सम्बोधन गरेका थिए ।
विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेकपाका नेता श्याम सेन्चुरीले विगतमा कानुनमा नै व्यवस्था गरि जातको आधारमा नै दण्ड सजाय गर्ने विभेदकारी व्यवस्था गरेको बताउँदै अहिले छुवाछुत तथा जातीय विभेद अन्त्य गरिएको घोषणा गरिएको भए पनि विभेद नहटेको र त्यसलाई अन्त्य गर्नको निम्ति एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नको लागि संघर्ष गनुपर्नेमा जोड दिए । यो दलाल संसदीय पूँजीवादी व्यवस्थाले जातीय विभेदलाई संरक्षण गरेको बताउँदै नेता सेन्चुरीले दलाल व्यवस्थाको अन्त्य गर्न संगठित संघर्ष गर्नु अनिवार्य रहेको बताए ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रुपा बुढा मगरले यो व्यवस्था नै विभेदकारी व्यवस्था बताउँदै रुपा सुनारमाथि भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको हर्कतको विरोध गर्दै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरे । साथै हरेक प्रकारका विभेदहरुको विरुद्धमा संगठन निरन्तर संघर्षरत रहेको भन्दै बुढा मगरले सबै प्रकारको उत्पीडनविरुद्ध संघर्ष गर्न जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।
त्यस्तै प्रदर्शनमा सम्बोधन गर्दै क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पारस राहादी मगरले युवा जमातमा ब्राह्मणवादी चिन्तन हावि हुनु आजको समयको डरलाग्दो अवस्था भएको बताउँदै रुपा सुनारमाथि भएको जातीय विभेदको घटनाले समाजका बौद्धिक वर्ग, क्रान्तिकारी, प्रगतिशील आवरणका व्यक्तिहरुको मुखुण्डो उत्रेको बताए । साथै जातीय भेदभाव विरुद्धको लडाइँलाई त्रिवि पूर्व रजिस्ट्रार सुधा त्रिपाठीले ‘दलितको दादागिरि’ संज्ञा दिएकोप्रति उपाध्यक्ष राहादीले आपत्ति जनाए ।
अखिल (क्रान्तिकारी)ले पुष्पलाल पार्क बुटवलमा विभिन्न नारा लेखिएका पोस्टरहरु बोकेर विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शन तथा कोणसभाको सञ्चालन क्रान्तिकारीका जिल्ला सदस्य प्रशुन ज्ञवालीले गरेका थिए । प्रदर्शनमा विद्यार्थी, युवालगायतको सहभागि रहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्