तनहुँ । नेकपा निकट अखिल (क्रान्तिकारी) तनहुँले प्रमुख जिल्ला अधिकारीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष पदम विश्वकर्माको हस्ताक्षरसहित क्रान्तिकारीले आइतबार उक्त ज्ञापनपत्र बुझाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापनाकाल देखि नै नेपालको समग्र शैक्षिक पुनर्संरचना राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरुमा महत्वपूर्ण भूमिका निवार्ह गर्दै आइरहेको कुरा सर्वविधितै छ ।
कोरोना महामारीको दोस्रो लहर पुरै देशमा फैलिएको छ ।धेरै संख्यामा संक्रमितहरु अक्सिजनको कमी, अस्पतालमा बेडको अभाव, आवश्यक औषधि तथा स्वास्थ सेवाको अभावमा मृत्युको शिकार भएका छ्न। देशमा एक जटिल स्वास्थ संकट पैदा भएको मात्र छैन । नागरिकता संसोधन विधेयक ऐनले राष्ट्रिय सुरक्षामा समेत गम्भीर चुनौती खडा भएको छ । भ्रष्टाचार, कालोबजारी, महँगाई चरम सिमामा पुगेको छ । र यो अवस्था सिर्जना गर्नुमा वर्तमान केपी सरकार जिम्मेवार रहेको छ ।
यसै सन्दर्भमा हाम्रो संगठनको तर्फबाट सम्बन्धित निकायहरूलाई यस संकटको घडीमा जिम्मेवार, जवाफदेही र कर्तव्यबोध गराउन निम्न मागहरुसहित यो ज्ञापनपत्र पेश गर्दछौं । यस सन्दर्भमा हाम्रो मागहरुबारे यथासिघ्र गम्भीर छलफल गरि पहलकदमी लिन अनुरोध गर्दछौं ।
१.वर्तमान सरकारको अपराधिक लापरबाही र कुशल व्यवस्थापनको कमिले जनता मृत्युको मुखमा धकलिएका छन् । यस्तो संकटको घडीलाई पनि नाफा कमाउने अवसर बनाई अनैतिक र अमानवीय तरिकाबाट तनहुँका निजि अस्पतालहरुले बिरामीहरु बाट दसौं लाख रकम असुल गरिरहेको जनगुनासो आएको हुँदा त्यस्ता अस्पतालका मालिकहरुलाई कार्वाही गरि संक्रमितहरुको निशुल्क उपचार गर्न जोडदार माग गर्दछ ।
२.तनहुँको सरकारी अस्पतालमा आवश्यक डाक्टर र स्वास्थ्यकर्मीको अभाव, स्वास्थ सामग्री तथा औषधिको अभाव हुँदा समेत मौन बस्ने सम्बन्धित प्रशासन नै भ्रष्टाचारमा डुबेको भन्ने व्यापक जनगुनासो आएकाले छानबिन गरि स्वास्थ समस्या हल गर्न र दोषीमाथी कार्वाही गर्ने हाम्रो संगठन जोडदार माग गर्दछ ।
३.यो महामारीको समयमा कृत्रिम अभाव खडा गरि जनताको दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि गर्ने, कालोबजारी गर्ने व्यापारी र नाफाखोर हरुलाई तत्काल कारबाही गर्न माग गर्दछ ।
४.दैनिक ज्यालादारी गरेर पेट पाल्ने श्रमिकहरुको लागि राहत प्याकेज तत्काल घोषणा गरियोस् र सम्पूर्ण जनताको खाद्य सम्प्रभुताको सुनिश्चित गरियोस् ।
५.कोरोना महामारीको समय अवधिको सम्पूर्ण शुल्क तत्काल मिनाहा गर्न र संकटको घडीमा तनहुँका केही ठुला शिक्षण संस्थाहरुले सम्बन्धित प्रशासनलाई प्रभावमा पारी अभिभावक र विद्यार्थीहरुलाई दबाब दिई विभिन्न माध्यमबाट शुल्क असुल गर्ने कार्य गरिरहेकाले त्यस्ता शैक्षिक संस्थाका मालिकहरुलाई तत्काल कारबाही गर्न जोडदार माग गर्दछ ।
६.कोठाभाडामा बसेका विद्यार्थीहरुलाई सम्बोधन हुने गरि राहत प्याकेज घोषणा गरियोस् ।'
प्रतिक्रिया राख्नुहोस्