दोलखामा जनसङ्गठन तथा जनसेवा अभियान उद्घाटन

दोलखा । नेपाल कम्युनिस्ट पार्टी दोलखाले आइतबार कालिन्चोक १, बेगुम्पामा सयौंको जनसभागितामा जनसङ्गठन तथा जनसेवा अभियानको उद्घाटन गरेको छ ।

अभियानको उद्घाटनमा पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य प्रवीणले जनताको सेवा गर्ने आफ्नो पार्टी मात्र भएको बताए । राष्ट्रियता, जनतन्त्र र जनजीवीका मुद्दा जोड्दार उठाउँदा दलाल सत्ताले आफ्नो पार्टी र जनतालाई प्रतिबन्ध लगाएको भन्दैसरकार र पार्टीबीच भएको तीन बुदे सहमति कार्यान्वयन गर्ने सवालमा सरकार उदासीन भएको बताए । उनले दलाल संसदीय व्यवस्था र संसदवादी पार्टीहरू असफल तथा अक्षम भएकाले जनमतसंग्रहमार्फत व्यक्ति र पार्टी होइन व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने बताए । 

आफ्नो पार्टीले ल्याउन खोजेको वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र जनताका गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, संचार , यातायात आदिको ग्यारेन्टी हुने नेता प्रवीणले बताए । 

कार्यक्रममा जिल्ला पार्टी सचिव आकाशले जिल्ला पार्टीको समग्र योजनाको व्याख्या गरेका थिए भने निवर्तमान इन्चार्ज तथा विशेष कमिटीका यादव दाहाल र मजदुर ताम्सालिङ संयोजक जीत थामीले अभियान सफलताको शुभकामना दिएका थिए । 

कार्यक्रम पदम थामीको अध्यक्षतामा र राजकुमार लामिछाको संचालनमा सम्पन्न भएको थियो ।