मङ्सिर १०, बुटवल । लुम्बिनी प्रदेश प्रहरी यतिबेला सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्याकर्ता खोज्न सक्रिय भएको छ । त्यसका लागि प्रदेशका पहाडी जिल्ला रोल्पा, रुकुम, दाङ, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा संयुक्त सुरक्षा फौज परिचालन भएको छ ।
नेकपाका महासचिव विप्लवको जन्मथलो रोल्पामा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । झन्डै एक दर्जनजति सवारी साधनले लिवाङ क्षेत्रमा संयुक्त गस्ती गरेर फर्किएको थबाङस्थित स्थानीयले बताएका छन् ।
संयुक्त सुरक्षाकर्मीले नेकपाका नेता कार्यकर्ता खोज्न आएको भन्दै सर्वसाधारणलाई सोधपुछ गरिरहेको बताइएको छ । त्यस्तै, हाल उनको घर रहेको कपिलवस्तु जिल्लामा पनि संयुक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । ती ठाउँमा दाङबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको एक प्रहरी अधिकारीले बताए । ‘दाङ र आसपासका जिल्लाहरूबाट मिलाएर संयुक्त सुरक्षाकर्मी परिचालन गरिएको छ,’ ती प्रहरी अधिकारीले भने, ‘अहिले विप्लवको आवातजावत यतैतिर बढेको भन्ने सूचना प्रहरीलाई छ ।’
मंसिर ८ गते शिवगढीमा एसपीको कमाण्डमा प्रहरी परिचालन गरी स्थानीयको घर–घरमा खानतलासी गरिएको समाचार आएको थियो । बुधबार जिल्ला इन्चार्ज जुझारूले एक प्रेस विज्ञप्ती जारी गर्दै शिवगढी र बिजयनगरमा प्रहरीले अनावश्यक खानतलासी, धरपकड र एकजना स्थानीय सर्वसाधारणलाई पक्राउ गरेको बताएका छन् । उनले शिवगढीमा राज्यले श्वेत आतंक मच्चाएको भन्दै त्यसको निन्दा एवं भत्र्सना समेत गरेका छन् । नेकपाले सात वर्ष पहिले दाङको तुलसीपुरमै भेला आयोजना गरी नयाँ पार्टीको निर्माणको घोषणा गरेका थिए । वर्षगाँठ मनाइरहेका बेला नेकपाको गतिविधि निस्तेज पार्न संयुक्त गस्ती गर्नु परेको अर्का एक प्रहरी अधिकारीले बताएका छन् ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संयुक्त गस्ती भइरहेको पुष्टि गरे । ‘त्यो संयुक्त गस्ती टोली सुरक्षाको लागि परिचालन भएको हो,’ डिआइजी धानुकले भने, ‘रोल्पा, कपिलवस्तु, पूर्वी रुकुम, अर्घाखाँचीमा मात्रै हैन त्यो टोली प्रदेशभर परिचालन भएको छ ।’ उनले यसलाई नियमित प्रक्रिया भएको बताए । तर, पछिल्लो समय निर्वाचनको समयबाहेक यसरी संयुक्त सुरक्षा फौज परिचालन भएको थिएन । संयुक्त सुरक्षाकर्मी परिचालन हुनुलाई नेकपा सम्बद्ध नेता कार्यकर्ताहरुले भने सरकारले युद्धको बाटो अंगाल्न खोजेको टिप्पणी गरेका छन् ।
आफूहरू शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्दा पनि राज्यले जबरजस्ती रुपमा घर तलासी गर्नु, धरपटक गर्नु तथा हिरासतमा महिनौंसम्म राख्नेजस्ता गैरन्यायिक कार्य गर्दै आएको आरोप उनीहरूले लगाए ।
प्रतिक्रिया राख्नुहोस्