रमाकान्त बास्तोला । पोखरा । नेकपा निकट अखिल (क्रान्तिकारी) कास्कीले बढ्दो महँगी र कालोबजारीको विरुद्ध विरोध प्रदर्शन गरेको छ । राज्यले जनतामा अप्रत्याशित रुपमा कालोबजारी, भ्रष्टाचारको अन्त्य भन्दा जनतामा अधिक मूल्यवृद्धि गरेको भन्दै मङ्गलबार पोखराको मानव अधिकार चोकदेखि प्लेकार्ड प्रदर्शन र र्यालीसहित सरकारले गरेको महँगीका विरुद्ध विरोध प्रदर्शन गरेको हो ।
पोखराको मानव अधिकार चोकदेखि शुरु भएको र्याली बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थ, ग्यास लगायतमा मुल्यवृद्धि खारेज गर, कालोबजारीलाई कारवाही गर, गुणस्तरीय खाध्यान्न आपूर्ति गर, विपन्नलाई सहुलियत कार्डको व्यवस्था गर, लिपुलेक लिम्पियाधुरा सहितको नक्शा लागु गर, अभिवावक माथि प्रकाशनले थोपारेको पुस्तक भार बन्द गर, विद्यालय स्तरमा राज्यले तोकेको १०% छात्रवृत्ति लागु गर जस्ता दर्जनौ प्ले–कार्ड र नारा सहित महेन्द्रपुलमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेकपा कास्की जिल्ला सदस्य काजी गुरुङले देउवा आउँदैमा जनताको समस्याको हल नहुने बताए । उनले तमाम समस्याको हल र समाधान वैज्ञानिक समाजवाद नै रहेको उल्लेख गर्दै व्यक्ति र दल भन्दा संसदीय व्यवस्था की वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्न र यसका लागी सबै नागरीकले मत मात्र दिने नभई मताधिकार प्रयोग गर्नुपर्ने तर्क राखे ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अटलले कालोबजारी गर्ने र शिक्षा क्षेत्रका शैक्षिक माफियाहरुलाई आफूहरुले तह लगाउने चेतावनी दिए ।
कोण सभालाई अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष पुरण पुनले संचालन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्